चुनावमा टिकट पाउँछु कि पाउँदिन भन्ने कुरालाई ठूलो विषय नबनाउनुस् : अध्यक्ष नेपाल

 असार ३१, २०७९ शुक्रबार १५:४३:४० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

बाग्मती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा आज शुक्रवार उहाँले प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय सङ्गठनलाई विस्तार गर्न पनि आग्रह गर्नुभयो । पहिलो काम कमिटी बनाउने, दोस्रो काम कमिटीलाई सक्रिय बनाउने, तेस्रो काम कमिटीका सदस्यलाई जनता माझमा व्यापक रूपमा परिचालन गर्न सक्रियतापूर्वक लाग्न अध्यक्ष नेपालले नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । 

सङ्घ र प्रदेश सभाको चुनावले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले त्यहीअनुसार लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुने गरी लाग्न उहाँले आग्रह गर्नुभयो । ‘निर्वाचनको समयमा टिकट पाउँछु कि पाउँदिन भन्ने कुरालाई ठूलो विषय नबनाउनुस्, राष्ट्रिय राजनीतिमा आफ्नो प्रतिनिधित्व कसरी बढीभन्दा बढी बनाउने भन्नेमा केन्द्रित हुनुस्, सानो चित्त होइन फराकिलो मन बनाएर लाग्नुस्’, उहाँले भन्नुभयो ।  

बाग्मती प्रदेशकी अध्यक्ष सावित्री भुसालले जिल्लाबाट प्राप्त भएको प्रतिवेदन पेस गर्ने, वर्तमान शक्ति सन्तुलन, पार्टी र सङ्गठनको अवस्थाजस्ता विषय बैठकका एजेन्डा रहेको बताउनुभयो । 

त्यसैगरी बैठकमा गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावको समीक्षा, विगतमा प्राप्त गरेको उपलब्धि र कमजोरीका सँगै आउँदो कार्यदिशाका बारेमा पनि छलफल हुने बताइएको छ । कार्यक्रममा १३ जिल्लाका नेता, कार्यकर्ता सहभागी भएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया