छानबिन समितिद्वारा अर्थ मन्त्रालयको सीसीटीभी फुटेजकाे अध्ययन सुरु

 असार ३२, २०७९ शनिबार १५:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरु गरेको जनाएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आज राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताउनु भयो ।

सचिव अर्यालले आज प्राविधिक विषय सीसीटीभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमा भित्र नै टुंगोमा पुर्‍याउने गरी अघि बढेको बताउनु भयो । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया