श्रीलङ्कामा नयाँ राष्ट्रपति चुन्न बुधवार चुनाव हुँदै, विक्रमासिङ्घेकाे सम्भावना धेरै

 साउन १, २०७९ आइतबार १७:५९:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

गम्भीर आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा यही जुलाई २० तारिख अर्थात् आउँदो बुधवार चुनाव हुने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्दै राजीनामा दिएपछि आउँदो बुधवार नयाँ राष्ट्रपति चुन्न संसदमा मतदान हुने भएको एनडीटीभीले जनाएको छ । राष्ट्रपतिका लागि पर्सि मङ्गलवारसम्म उम्मेदवारी दर्ता गर्न सकिने खबरमा उल्लेख छ । 

कार्यवाहक राष्ट्रपतिको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि उम्मेदवारी दिने तयारी गर्नुभएको छ । यस्तै मुख्य विपक्षी दलका साजित प्रेमदासाले पनि उम्मेदवारी दिनुभएको छ ।

दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेको दल पोदुजाना पेरुमुनाका एक सय ४५ सांसद रहेका छन् । राजापाक्षेको दललाई अरू सात जना सांसदको पनि समर्थन रहेको छ । राष्ट्रपति चयनका लागि एक सय १३ मत आवश्यक पर्छ ।

यसअघि आफू मात्रै सांसद रहँदा रहँदै पनि युनाइटेड नेशनल पार्टीका सांसद विक्रमासिङ्घे प्रधानमन्त्री बन्नुभएको थियो । राष्ट्रपतिमा पनि विक्रमासिङ्घेले जित्ने पक्का जस्तै छ । प्रदर्शनकारीले भने पूर्वराष्ट्रपति राजापाक्षेकै साझेदार व्यक्ति भएकाले उहाँलाई स्वीकार नगर्ने चेतावनी दिइसकेका छन् । 

आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए, यस्तै प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आगजनी र प्रधानमन्त्री कार्यालय पनि कब्जामा लिएका थिए । कब्जामा लिएका ठाउँ अहिले उनीहरूले छाडिसकेका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया