ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
दार्चुला - अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्नुहुन्छ । उहाँ वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगमा यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउनुहुन्छ ।
पढाइ सामान्य साक्षर मात्र गर्नुभएका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउनुुहुन्छ । घरमा दुई बुढाबुढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उहाँ सुनाउनुहुन्छ ।
'एक महिना यार्सागुम्बा सङ्कलन गरेर झण्डै चार लाख रुपैयाँ कमाइ भयो', उहाँले भन्नभयो,'जङ्गलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुपर्यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ ।'
यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन् । यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन् । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा सङ्कलनमा समेत असर पर्यो । यस वर्ष यार्सागुम्बा वैशाखमै सङ्कलन भयो । सङ्कलन गरेकाहरुले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन् ।
अपिहिमाल–१ का ललित जाग्रीले भन्नुभयो,'एक महिना मेहनत गर्यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुपर्यो ? यार्सागुम्बा मात्र नभइ सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन् ।'
यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन् । व्यापारी आफैँ घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन् । यस वर्ष व्यापारीले प्रतितोला १५ हजार रुपैयाँदेखि १८ हजार रुपैयाँ हालेर यार्सागुम्बा खरिद गरेका छन् । विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन् । यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ । स्थानीय धनसिंह जाग्री जिल्लाभरिबाट अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको बताउनुहुन्छ । जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताउनुहुन्छ ।
यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन
अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपि हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपि फेद, दूधीवनलगायतका वनमा यार्सागुम्बा सङ्कलन भएको हो ।
जिल्लाबाट यस वर्ष असारसम्म ७ सय २२ किलोग्राम यार्सागुम्बाको छोडपुर्जी जारी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो ३० हजार रुपैयाँका दरले कुल २ करोड १६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिनुभयो ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा सङ्कलन र निकासी घटेको थियो । यार्सागुम्बा सङ्कलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६ सय ६९ किलो, २०७४/७५ मा ७ सय ६४ किलो, २०७५/७६ मा ५ सय ४५ किलो, २०७६/७७ मा ३ सय २७ किलो र २०७७/७८ मा ३ सय ५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।