वीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनशन बस्ने श्रीमती सुशीला

 साउन ६, २०७९ शुक्रबार १३:५५:४ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ ।

तर प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीकी धर्मपत्नी सुशीला एक अपवाद हुनुहुन्छ, जसले जीवनकालमा आफ्नै परिवारबाट जेठाजु मातृका, पति वीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाउनु भयो । तर पनि राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गर्नु भएन । बरु दुई तिहाइ बहुमत प्राप्त दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका आफ्ना पति वीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनशन बस्नुभयो। 

अहिले प्रधानमन्त्री, मन्त्रीको निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आइरहेको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि यस्ता आरोप लाग्दै आएका छन्।  कांग्रेसका पुराना नेता केशवनन्द जोशीकाअनुसार वीपीलाई श्रीमती सुशीलाले पार्टी सभापति छोडेर पार्टी सङ्गठन बलियो बनाउन सुझाव दिनुभएको थियो ।

केशवनन्द जोशी

नेता जोशीले भन्नुभयो, ‘मैले सुनेअनुसार सुशीला भाउजुले वीपीलाई बारम्बार छोडिदिनुहोस्, प्रधानमन्त्री र संसदीय दलको नेता बन्न, सुवर्ण शम्शेरको राजासँग निकट छ, उहाँलाई छोडेर तपाईँ पार्टी सङ्गठनलाई बलियो बताउनु लाग्नुस् भन्ने गर्नुहुन्थ्यो रे ।’ 

तत्कालीन समयमा नेपाली कांग्रेस पार्टीले दुई तिहाइका साथ जितेको भए पनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको थियो । संसदीय दलको नेतामा वीपी उठ्न लाग्दा कमाएको इज्जत र प्रतिष्ठा मेटिने डरले श्रीमती सुशीला चिन्तित भएको छोरा प्रकाश कोइरालाले बताउनुभयो । पार्टी सभापति र प्रधानमन्त्री नबन्न सुशीलाले आग्रह गर्दा उहाँले कोइराला परिवारबाट नै गाली खाएको प्रकाशले स्मरण गर्नुभयो । उहाँले आमाको प्रधानमन्त्री नबन्ने प्रस्ताव कोइराला परिवार कसैलाई चित्त नबुझेको बताउनु भयो । वीपीले आमाका सबै कुरा सुन्ने गरे पनि निर्णय आफ्नै लिने गरेको छोरा प्रकाशको भनाइ छ । 

प्रकाश कोइराला

उहाँले भन्नुभयो, ‘चुनावमा पार्टीले दुई तिहाइ मतका साथ जितेको भए पनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको थियो । त्यो अवस्थाले मेरो आमालाई एकदमै चिन्तित बनाइरहेको थियो । वीपीलाई सरकार चलाउन पार्टी भित्रैबाट असहयोग हुनेछ र उहाँलाई असफल बनाउने काम हुनेछ भन्ने आमालाई लागेको थियो । त्यस्तो अवस्था आयो भने त्यो बेलासम्म  वीपीले जति पनि नाम र इज्जत कमाउनुभएको छ त्यो पनि मेटिएर जानसक्छ भन्ने डर आमालाई थियो । एकातिर राजाले सुवर्णजीलाई नै चाहेको कुरा बाहिर आइरहेको थियो, अर्कोतिर नेपाली कांग्रेस भित्रैबाट पनि वीपीलाई असहयोग हुने गाइँगुइँ चलेको थियो । त्यसैले मेरो आमाले पटकपटक बाबालाई तपाईं प्रधानमन्त्रीमा दाबी नगर्नुस्, सुवर्णजीलाई बनाउनुस् भन्नुभएको थियो । मेरी आमाको त्यस्तो अडान कोइराला परिवारका धेरै सदस्यलाई चित्त बुझेको थिएन । सबै वीपीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । सुशीलाले के यो नचाहिने अड्डी लिएकी भन्ने उहाँहरुको बुझाइ थियो ।  बाबाले आमाको कुरा राम्रोसँग सुन्नुहुन्थ्यो तर पनि निर्णय त वीपीकै हुन्थ्यो । अन्तिममा उहाँले प्रधानमन्त्री भएर देशको सेवा गर्छु भनेर एकल निर्णय लिनुभयो ।’

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया