विश्वका १ सय ६४ देशबाट आउँछन् नेपालमा मालसामान, भारतबाट मात्रै १२ खर्ब रुपैयाँभन्दा धेरैकाे आयात

 साउन ९, २०७९ सोमबार १७:२१:२१ | रासस
unn.prixa.net

काठमाण्डाै – आर्थिक वर्ष २०७८/७९ मा विश्वका एक सय ६४ देशबाट नेपालले विभिन्न मालसामान आयात गरेको पाइएको छ । भन्सार विभागले आज साेमवार सार्वजनिक गरेको गएकाे आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको हो ।

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट १२ खर्ब १५ करोड २७ लाख रुपैयाँभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्रै दश खर्ब ४४ अर्ब ९३ करोड चार लाख रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । 

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र  ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गएकाे आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आव २०७८/०७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । 

बढ्यो व्यापार घाटा

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गएकाे आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको हो । विभागका अनुसार गएकाे आर्थिक वर्ष देशको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ बराबर थियो । 

एक वर्षको अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६ दशमलव १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया