म्यानमारमा ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड

 साउन १०, २०७९ मंगलबार ६:४१:१६ | एजेन्सी
unn.prixa.net

म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको छ । सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो भनेर आधिकारिक रूपमा खुलाइएको छैन ।

आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पूर्व सांसद फ्यो जेया था, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ्ग र आङ्ग थुरा जालाई मृत्युदण्ड दिइएको सरकारी समाचार संस्था ग्लोबल न्युज लाइट अफ म्यानमारले जनाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्ड दिइएको हो ।

गएको जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेका थिए । म्यानमारमा सन २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो । आङ सान सुकीले नेतृत्व गरेको नेश्नल लिग फर डेमोक्रेसी (एनएलडी) को नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएको थियो ।

सैन्य 'कु' को विरोधमा गठन गरिएको छायाँ सरकारले मृत्युदण्डको निन्दा गरेको छ । ती चार जनाको परिवारका सदस्यहरू याङ्गुनको इन्सेन जेलमा अधिकारीहरूसँग भेट्न कुरिरहेका बीबीसीले जनाएको छ । पूर्व सांसद फ्योकी श्रीमती थाजीन युन्ट आङले आफूलाई मृत्युदण्ड कार्यान्वयन गरिएको विषयमा जानकारी नदिइएको बताउनुभएको छ ।

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले चार जनालाई मृत्युदण्ड दिने निर्णय व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारको निर्मम हनन भएको प्रतिक्रिया दिनुभएको छ । सैन्य 'कु' यता सुकी नजरबन्दमा हुनुहुन्छ । उहाँमाथि भ्रष्टाचारलगायतका आरोपहरू लगाइएको छ । ती सबै आरोपमा दोषी ठहरिए उहाँलाई १ सय ५० वर्षसम्मको जेल सजाय हुनसक्छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया