वैदेशिक राेजगारीमा गएकाले शेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था गरिने

 साउन १२, २०७९ बिहिबार १९:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई क्षतिबाट बचाउनका लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने घोषणा गरेको छ । 

आज बिहीवार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आर्थिक वर्ष २०७९/०८० को बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि चालु आर्थिक वर्षभित्रै कानुनी आधार तयार पार्ने बताउनुभयो ।

अध्यक्ष हमालले धितोपत्र बजारको दायरा बढाउने, बुक बिल्डिङलाई प्रभावकारी बनाउन अटोमेटिक अक्शन सिस्टम लागू गर्ने योजना अगाडि बढाउने बताउनुभयो । उहाँले पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई आईपीओ अनिवार्य हुने कानून बनाउने तथा नयाँ ब्रोकर थप्ने योजना रहेको बताउनुभयो । अध्यक्ष हमालले वैदेशिक रोजगारीमा गएका नेपालीले शेयर बजारमा लगानी गर्न सक्ने गरी सी आस्वाकाे व्यवस्था गर्ने, एनआरएनएले लगानी गर्नसक्ने ढोका खोल्ने बताउनुभयो । 

अध्यक्ष हमालले नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको शेयर कारोबार गर्न एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एउटै प्लेटफर्मबाट शेयर खरिद/बिक्री हुँदै आएको भन्दै चालु आवदेखि साना तथा मझौला कम्पनीका लागि छुट्टै प्लेटफर्म सञ्चालनमा ल्याउने बताउनुभयो । हमालले व्यावसायिक कृषि कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन नयाँ स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयाे । 

उहाँले बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाइ छिटो सेवा प्रवाह गर्ने एवम् विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गरिने बताउनुभयो । बजारमा हुने चलखेल र अनुचित क्रियाकलापलाई निरुत्साहित गर्न विश्वस्तरीय प्रविधि एवम् प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरीवेक्षण प्रणालीलाई आर्टिफिसिल इन्टेलिजेन्स (एआई) मा आधारित रेन्जटेचमार्फत चुस्त बनाउने उहाँकाे भनाइ छ । 

अध्यक्ष हमालले बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरूलाई म्यारिट वेस फाइल एप्रुभल सिस्टमका आधारमा प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले वास्तविक क्षेत्र तथा अन्य क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा सूचीकृत गर्नका लागि आवश्यक हुने नीति कार्यविधि तथा प्रविधिको व्यवस्था मिलाइने पनि उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया