नागरिक शिक्षित नभएसम्म देश समृद्ध बन्दैन : पूर्वराष्ट्रपति यादव

 साउन १२, २०७९ बिहीबार १९:५१:२१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काभ्रेपलाञ्चोक – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म देश समृद्ध नबन्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उहाँले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भइ कसरी देश निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताउनुभएको हो । 

‘जबसम्म शिक्षित नागरिक देशको हुँदैन तबसम्म देश बन्दैन, आज शिक्षा त हामी दिन्छौँ तर रोजगारमूलक, उद्देश्यमूलक तथा राष्ट्र निर्माणमा कसरी भावना जोड्ने भन्ने खालको हुनुपर्छ । यस्तो शिक्षा कसरी आफ्नो राष्ट्र बनाउने भन्ने सोच भएका व्यक्ति उत्पादन गर्ने खालको हुनुपर्छ’, यादवले भन्नुभयो । उहाँले शिक्षाले देश निर्माणको भावना जागृत गराउनुपर्ने दोहोर्‍याउनुभयो । 

पूर्वराष्ट्रपति यादवले सीप नहुने व्यक्ति ‘अदक्ष जनशक्ति’ भएकाले लाखौँको सङ्ख्यामा विदेश पलायन हुनुपर्ने बाध्यता भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज दक्षसहित धेरैजसो अदक्ष जनशक्ति विदेश पठाइरहेका छौँ, त्यस जनशक्तिलाई रोजगारमूलक बनाइ राष्ट्र उत्थानमा लगाउनेतर्फ सबै क्षेत्र लागौँ ।’ राष्ट्र उत्थान गर्न थुप्रै गतिविध हुनुपर्ने भएकाले आफ्नै जनशक्तिलाई व्यावसायिक शिक्षातर्फ आकर्षित गरी आफ्नै देशमा राख्नुपर्ने उहाँको धारणा थियो । 

यादवले फरक प्रसङ्गमा जसको ठूलो हृदय हुन्छ उसले देशका लागि केही गर्छ भन्नुभयो । ‘देशका लागि ठूलो हृदय भएका युवाले आफ्नो देशमा केही गर्ने सोच बनाउनु सकारात्मक विषय हो, यस्ता मनले इनोभेटिभ सोच राख्दछ र काम गर्दछ’, उहाँले भन्नुभयो । उहाँले सेन्टरले राष्ट्र उत्थानमा योगदान पुर्‍याउने विश्वास लिएको उल्लेख गर्दै जनप्रतिनिधिले पनि राष्ट्रका लागि नवीनतम कार्य थालनी गर्ने युवालाई हृदयदेखि नै सहयोग गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया