भन्सार कार्यालयभित्र बाँदर आतङ्क !

 साउन १३, २०७९ शुक्रबार १३:४०:३ | रासस
unn.prixa.net

कैलाली – कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय वाणिज्य  बैंकको काउन्टरका एक कर्मचारी बिहीवार बाँदरले कार्यालयभित्र गरेको फोहरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिनुभयो ।   

भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँ–ठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उहाँ नाक र मुख छोपेर हिँड्न बाध्य हुनुभएको हो । 

उहाँले भन्नुभयो, ‘बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान नदिँदा सेवाग्राहीलाई समस्या भइरहेको छ ।’

भन्सार कार्यालयभित्र बैंकले सेवाग्राहीको सहजताका लागि आफ्नो काउन्टर सञ्चालन गरेको छ । भित्र पसेका बाँदरले भन्सार छलेर चोरी पैठारीको अभियोगमा दाखिला भइ बरन्डाको कुनामा बोरामा राखिएको खाद्य सामग्री खाएर नोक्सान पुर्‍याइरहँदा बाँदरलाई धपाउने कोही थिएनन् ।   

कार्यालय समयमा सेवा लिन पुगेका एक जना सेवाग्राही कोठाकोठा चहार्दै गर्दा पनि कोही कर्मचारी नभेटिएको गुनासो गर्दै हुनुहुन्थ्यो । नाम भन्न नचाहेका उहाँले भन्नुभयो, ‘राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयमा समयमै कर्मचारी नभेटिने समस्याका बीच आज कार्यालयभित्र भेटिएका बाँदर नै आफूलाई झम्टिन आउँदा डर लाग्यो ।’   

कार्यालयको मुख्य ढोकाको छेउमा रहेको हेल्प डेस्कमा बसेका भन्सारका एक कर्मचारीले भन्नुभयो, ‘हिजो कार्यकक्षमै पसेर उपद्रो मच्चाएका बाँदरलाई बाहिर धपाउन हैरानी खेप्नुपर्‍यो ।’   

भन्सार छलेर चोरी पैठारीको अभियोगमा प्रहरीले झन्डै तीन÷चार बोरा परिमाणको ती खाद्य सामग्री (पानीपुरी) बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । लिलाम गर्नुपर्ने ती खाद्य सामग्री कार्यालयको बरन्डामा थन्क्याइँदा भित्र पसेका बाँदरले खाएर नोक्सान पुर्‍याएका हुन् । ती खाद्य सामग्रीको भन्सार शुल्क लाग्ने गरेको बताइएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया