सुराकका भरमा मात्रै पक्रिन्छन् लागुऔषध कारोबारी

 साउन १६, २०७९ सोमबार १३:४५:४ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चाेक - इलाका प्रहरी कार्यालय बनेपाले लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई गएकाे शनिवार राति पक्राउ गर्यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको हो । 

लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की सङ्गीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिवार बनेपा नपा–१० बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यही आरोपमा बाराको कलैया उपमहानगरपालिका–१२ घर भइ अहिले वीरगञ्ज बस्ने पवनकुमार शाह र वीरगञ्ज महानगरपालिका–२४ का शेषनाथ शाहलाई शनिवार राति नै वीरगञ्जबाट पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

प्रहरीका अनुसार बनेपा नगरपालिका–१० मा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बनेपामा पक्राउ परेकाबाट प्रहरीले तीन सय दुई एम्पुल डाइजेपाम, तीन सय दुई एम्पुल फेनेर्गन र तीन सय दुई थान नोफिन गरी कुल नौ सय छ थान लागुऔषध बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट बनेपामा पक्राउ परेको सङ्गीताले वीरगञ्जबाट लागुऔषध ल्याइ काठमाण्डौमा मियाँसँग भेट भएको र मियाँले बनेपाका सविनलाई लागुऔषध दिन आएको खुलेको छ । शेषनाथले भारतबाट लागुऔषध वीरगञ्ज ल्याउने र वीरगञ्जमा शाहलाई दिने गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका पाँचै जनालाई हिजाे जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । यो घटनामा प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको बताइन्छ । 

यसअघि गएकाे वैशाखमा लागुऔषध प्रयोगकर्ता चार चालकलाई काभ्रेपलाञ्चोककाे अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो । यस्तै प्रहरीले सुराककै आधारमा गएकाे वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नसालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका–२ काे एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो । साथै उनको फार्मेसीबाट विभिन्न प्रकारका ७ हजार १ सय ३८ प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरिएको थियो । 

 यसअघि प्रहरीले २०७६ साल फागुन दोस्रो हप्ता पनौती नगरपालिका–६ मा एक घरमा डेरा गरी बस्ने ३२ वर्षीया महिलाको कोठाबाट लुकाइछिपाइ बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । प्रहरीले याे घटनामा पनि सुराकीकै आधारमा महिलालाई पक्राउ गरेको जनाएको थियो । 

काभ्रेलगायत छिमेकी जिल्ला तथा काठमाण्डाैका विभिन्न ठाउँमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने प्रहरीको रेकर्डबाट देखिन्छ । सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको घटनाक्रमले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रतिवेदनअनुसार वीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) बाट प्रायजसाे लागुऔषध ओसारपसार हुने गरेको घटनाक्रमले देखाएको हो । प्रहरीले सुराकीको आधारमा यस राजमार्गबाट आउने गाडी जाँच गर्दा दर्जनौँ पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाएको पाइएको छ । 

प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसारपसारकर्ता पक्राउ गरी सार्वजनिक गर्ने गर्दछ । उसको तथ्याङ्कअनुसार विशेष गरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोगकर्ताका रुपमा देखिएका छन् । तराई क्षेत्रबाट वीपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ । 

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की एक हजारदेखि एक हजार पाँचसयसम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । काभ्रेपलाञ्चोक प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच बर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३७ वटा मुद्दामा ७१ जना पक्राउ परेका छन् ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको वीपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले त्यस राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी बताउनहुन्छ । यसअघि पक्राउ परेकाले भारतका विभिन्न ठाउँबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाण्डाैमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेष गरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको जनाइएको छ । पक्राउ परेकामध्ये पनि प्रायजसाेले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएका छन् । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया