श्रीलङ्काका राष्ट्रपतिको गुनासो : मेरो घर छैन, कहाँ जाउँ ?

 साउन १६, २०७९ सोमबार १४:१५:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : डीडी न्युज

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफूसँग घर नभएको गुनासो गर्नुभएको छ । प्रदर्शनकारीले राष्ट्रपति विक्रमासिङ्घेलाई सरकारी निवास नभइ आफ्नै घर जान धम्की दिएका छन् । 

क्यान्डी सहरमा भएको एक कार्यक्रममा राष्ट्रपति विक्रमासिङ्घेले आफूसँग घर नै नभएकाले प्रदर्शनकारीको मागले कुनै महत्त्व नराख्ने बताएका भारतीय सञ्चारमाध्यम एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ । प्रदर्शनकारीले यसअघि नै आगो लगाइदिएकाले आफूसँग घर नभएको र फेरि पनि आफ्नै घर जाउ भन्नु समयको बरबादी मात्रै हुने विक्रमासिङ्घेको भनाइ रहेको छ । आफ्नो घर पुनर्निर्माण भएपछि प्रदर्शनकारीको माग सम्बोधन हुन सक्ने राष्ट्रपति विक्रमासिङ्घेले बताउनुभएको छ । 

गएको जुलाइ ९ तारिखमा प्रदर्शनकारीले तत्कालीन प्रधानमन्त्री विक्रमासिङ्घेको घर जलाइदिएका थिए । त्यसअघि उनीहरूले राष्ट्रपति निवास कब्जा गरेका थिए । प्रदर्शनकारीले निवास कब्जा गर्ने सङ्केत पाएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स हुँदै सिङ्गापुर जानुभएको छ । राजापाक्षेले सिङ्गापुरबाटै राजीनामा दिएपछि भएको राष्ट्रपतिको चुनावमा रनिल विक्रमासिङ्घे निर्वाचित हुनुभएको छ । 

गम्भीर आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा औषधि, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक वस्तुको चरम अभाव छ । देश गरिबी र भोकमरीमा जान थालेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया