अमेरिकी सभामुखकाे ताइवान भ्रमणप्रति चीनको औपचारिक विरोध

 साउन १८, २०७९ बुधबार १६:११:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : द हिल

चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेका चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति विरोध व्यक्त गरेको छ ।

चीनले राजदूतमार्फत आधिकारिक रूपमा विरोध व्यक्त गरेको हो । चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको र चीन मौन नबस्ने भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । चीनले पलोसीको भ्रमणविरुद्ध यसअघि पनि बारम्बार चेतावनी दिँदै आएको छ ।

यसैबीच ताइवान भ्रमणमा रहेकी पलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता गर्नुभएको छ । उहाँले  ताइवानसँग यसअघि जनाएको प्रतिबद्धताबाट अमेरिका पछि हट्न नहुने भन्दै अमेरिका साथमा रहने बताउनुभएको छ । भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा उहाँले यसअघि अमेरिकाबाट पुरुष सांसदहरू आउँदा चीनले केही नबोलेको तर आफू आउँदा ठूलो विवाद गरेको गुनासो पनि गर्नुभएको बीबीसीले जनाएको छ ।

गए राति ताइवान पुग्नुभएकी पलोसी आज ताइवानको संसदमा पनि जानुभएको छ । पलोसी ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्न सक्ने भन्दै ताइवानले सतर्कता बढाएको छ । चीनको आलोचक रहँदै आएकी पलोसीको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको भ्रमण हो । पलोसीको भ्रमणलाई ह्वाइट हाउसले भने समर्थन गरेको छैन ।

स्वशासित टापु ताइवानमाथि चीनले दाबी गर्दै आएको छ । हिजो चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको थियो । अमेरिकाले पनि ताइवानको सीमा क्षेत्रमा युद्धपोत परिचालन गरेको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया