कोभिड–१९ सङ्क्रमितको 'जिन सिक्वेनसिङ' गरिने

 साउन २०, २०७९ शुक्रबार १९:३८:२६ | रासस
unn.prixa.net

काठमाण्डाै : कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोभिड–१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न सङ्क्रमितको 'जिन सिक्वेनसिङ' गर्ने निर्णय गरेको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज शुक्रवार बसेको सीसीएमसीका पदाधिकारीको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणबाट ज्यान  गएका सबै व्यक्ति तथा आईसीयू र एचडीसीयूमा रहेका बिरामीमध्ये प्राविधिक रूपले सम्भव भएसम्म कोरोना भाइरसको 'जिन सिक्वेन्सिङ' गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।  

यस्तै बैठकले होम आइसाेलेशनमा रहेका व्यक्तिका बारेमा मन्त्रालयसहित प्रदेश र पालिकाबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शङ्कर नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा कोभिड–१९ सङ्क्रमणको पछिल्लो अवस्थाबारे समीक्षा गरिएको थियो । सङ्क्रमण दर बढ्दो क्रममा रहे पनि अस्पतालमा भर्ना दर न्यून रहेको तथा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको अध्ययन गर्दा अन्य गम्भीर प्रकारका रोगसमेत लागेको पाइएको बैठकमा जानकारी गराइएको थियो ।

बैठकले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अस्पतालमा शय्या सङ्ख्या, आईसीयू तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर कोभिड–१९ प्रति अझै सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ । सङ्क्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालन गर्न नागरिकमा अनुरोध पनि गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया