१२ वर्षमा झन्डै ४ करोड रुपैयाँ खर्च भएपछि लम्सुवाघाट पुलको ठेक्का रद्द

 साउन २२, २०७९ आइतबार १४:२८:५२ | रासस
unn.prixa.net

सङ्खुवासभा – झन्डै चार करोड रुपैयाँ खर्च भइसकेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ । १२ वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो । 

पुल निर्माणमा अहिलेसम्म तीन करोड ८५ लाख रुपैयाँ खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक÷पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिनुभयो ।  

स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार पुल २०७० सालमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीका प्रमुख दयाराम लामिछानेले पुल बनाउन नसक्ने लिखित जवाफ दिएपछि ठेक्का रद्द गरिएको शाहले बताउनुभयो । 

‘हामीले कार्यालयको तर्फबाट गर्न सक्ने काम गरेका हौँ । निर्माण कम्पनीलाई पटक÷पटक काम चाँडो गर्न आग्रह गर्दा गर्न नसक्ने जानकारी दिएको छ’, उहाँले भन्नुभयो । पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठूलो चट्टान भेटिएको भन्दै कम्पनीले कामलाई अघि बढाउन नसकेको बताउँदै आएको थियो । ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको ७७ लाख रुपैयाँ रोकेर कालोसूचीमा राख्नका लागि पत्र पठाएको शाहको भनाइ छ । धरौटी नरोक्न तथा कालोसूचीमा नहाल्न कम्पनीले पाटन अदालतमा मुद्दा हालेको शाहले बताउनुभयो । 

मुद्दा परेपछि काम नगर्न अदालतले आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिनुभयो । ‘हामीले बैंकमा रहेको धरौटीबापतको रकम रोक्का गरेर कालोसूचीमा हाल्ने प्रक्रिया थालेका छौँ’, उहाँले भन्नुभयो । 

पुल निर्माणका लागि ६ वटा पिलर उठाइएको भए पनि काम अघि बढ्न सकेको छैन । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर काठको डुङ्गाबाट यात्रा गर्न बाध्य छन् । तत्कालीन समयमा सडक डिभिजन कार्यालय धनकुटा र निर्माण कम्पनीबीच सम्झौता भएको भए पनि पछि यो पुल सडक डिभिजन कार्यालय तुम्लिङटार मातहात आएको बताइएको छ । 

पुलको डिजाइनमा समेत त्रुटि रहेको पाइएको छ । यहाँ सुरुमा एक सय ६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर एक सय ७२ मिटर निर्माण गर्ने गरी काम थालिएको थियो । प्राविधिकले डिजाइन गरे भन्दा झन्डै ७२ मिटर छोटो रहेको पाइएको छ । ‘घाटको जम्मा लम्बाइ दुई सय ३४ मिटर छ । सम्झौता एक सय ७२ मिटर लामो बनाउन भएको छ’, उहाँले भन्नुभयो । 

पुलले भोजपुरको षडानन्द नगरपालिका ६ सतिघाट र सङ्खुवासभाको मनकामनालाई जोड्ने छ । पुल बनाउन सङ्घीय सरकारले २४ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।   

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया