रसुवामा पहिरो जाँदा गोसाइँकुण्डका तीर्थयात्री मर्कामा

 साउन २५, २०७९ बुधबार १३:२५:१ | रासस
unn.prixa.net

फाइल फाेटाे

रसुवा - गएराति रसुवामा रहेकाे बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो गइ गाडी आवागमन पूर्ण रूपमा बन्द हुँदा गाेसाइँकुण्ड जाँदै गरेका तीर्थयात्री समस्यामा परेका छन् । 

उत्तरगया गाउँपालिका–५ मा रहेकाे माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर पहिराे जाँदा गाेसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्री मर्कामा परेका हुन् । पहिरोले बेसीतर्फकाबस्तीलाई प्रभावित पारेकाे छ भने अन्नबालीमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पहिराेबाट मानवीय क्षति भने नभएको जनाइएको छ । प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैदेखि सुरु भएको छ । पहिरोका कारण बेत्रावती, पहिरेबेसी, मैलुङ खण्डको नयाँ सडकमा समेत गाडी आवागमन पूर्ण रूपमा बन्द भएको बताइएको छ ।

जनैपूर्णिमाको अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई धुञ्चे पुर्याउन स्थानीयस्तरमा रहेका गाडी परिचालन गरिने प्रहरीले जनाएको छ । उत्तरी भेगमा रहेका पासाङल्हामु तथा टिमुरे यातायात समितिको बसले गोसाइँकुण्ड जाने यात्रुलाई  यातायातको सुविधा दिने तर निजी गाडी भने प्रभावित हुने  बताइएको छ ।

बनुवा घुम्ती सडकदेखि त्रिशूली नदीसम्म पुगेको पहिरोको दूरी करिब दुई किलोमिटर रहेकाे र जमिन तथा अन्नबाली ठूलो मात्रामा नोक्सान भएको लहरेपौवाका डा. सरोज श्रेष्ठले जानकारी दिनुभयो। 

पहिरोका कारण नौबिसे क्षेत्रमा निजी आवाससमेत प्रभावित भएका डा श्रेष्ठले बताउनुभयो । सडकको नालीमा बग्ने पानी व्यवस्थित हुन नसक्दा पहिराेकाे समस्या उत्पन्न भएको र क्षतिको यथार्थ विवरण आउन बाँकी रहेकाे ‍ उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया