उक्लँदै स्याउ, पग्लिँदो  माटो

 साउन २५, २०७९ बुधबार १४:२६:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की – सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेतेमाथिको कोवाङमा पनि स्याउ खेती हुन छोडेको छ । आजभन्दा झन्डै डेढ दशक अघिसम्म समुद्री सतहबाट तीन हजार मिटर उचाइभन्दा माथि स्याउ नफल्ने गरेकामा अहिले भने झन्डै तीन हजार आठ सय मिटर उचाइको क्षेत्रसम्म स्याउ फल्न थालेपछि यहाँका स्थानीयवासी नै अचम्ममा परेका छन् ।

स्याउको उत्पादन र बिक्री नै मुख्य आयको स्रोत बनाउँदै आएका लेते र आसपासका स्थानीयवासीका लागि भने आयआर्जनको नै विकल्प खोज्नुपर्ने अवस्था आएको छ । झन्डै दुई हजार पाँच सय मिटरको उचाइमा रहेको लेते र आसपासका क्षेत्रमा स्याउको विकल्पमा नासपाती, ओखर, खुर्पानीजस्ता फलफूल खेती विकल्पका रूपमा अघि बढाइएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा हिमाली क्षेत्रको माथिल्लो भागहरूमा स्याउ फल्न थालेको बताउँदै उहाँले झन्डै तीन हजार आठ सय मिटर उचाइको उपल्लो मुस्ताङको लोमन्थाङ र आसपासका क्षेत्रमा स्याउ खेती हुन थालेको बताउनुभयो ।

पछिल्ला वर्षमा टुकुचेभन्दा माथि मुक्तिनाथ, छुसाङलगायतका ठाउँमा स्याउ खेती फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । माथिल्ला भेगमा स्याउ खेती फस्टाउँदै गएपछि किसान पनि यसतर्फ आकर्षित बन्दै गएको मुक्तिनाथमा रहेको होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताउनुभयो ।

‘मुक्तिनाथभन्दा माथि उपल्लो मुस्ताङको लोमन्थाङसम्म स्याउ खेती बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘पहिला पहिला उपल्लो भेगमा सानो आकारमा फल्ने गरेका स्याउ अहिले ठूलाठूला फल्न थालेका छन् ।’ पछिल्ला वर्षमा बर्सेनि बढिरहेको तापमान वृद्धिका कारण पनि स्याउ खेती माथिल्ला भेगतर्फ बढ्दै गएको हुन सक्ने उहाँको भनाइ छ ।

विगतमा पानी नपर्ने हिमाली बस्तीमा हिजोआज भने पानी पर्न थालेपछि वर्षौँदेखि बनेका माटाका संरचनाहरू जोखिममा पर्दै गएको उहाँले बताउनुभयो ।

बर्सेनि पानी नपर्ने ठाउँमा पानी पर्न थालेसँगै मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा निर्मित माटाका संरचना जोखिममा पर्दै गएको स्थानीयवासी बताउँछन् । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा बर्सेनि प्रभाव पर्दै गएको छ । यी क्षेत्रमा प्राचीन कालदेखि नै परम्परागत माटोले छाइएका घरहरू छन् । पानीका कारण माटोका छत भएका घरमा माटो पग्लिन थालेको छ ।

अत्यधिक चिसो हुने ठाउँ भएका कारण तापक्रम सन्तुलनका लागि माटाले छाइएका घरमा यहाँका स्थानीयवासी कहिलेकाहीँ पर्ने हिउँ बेल्चा लगायतको प्रयोगबाट फाल्ने गर्दथे । पछिल्ला वर्षमा पानी नै पर्न थालेपछि माटो निर्मित संरचना पग्लन थालेको स्थानीयवासीको दुःखेसो छ ।

प्रायः चिसो भइरहने भएका कारण माटोले बनाइएका यहाँका घर वातावरण अनुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि घरभित्र न्यानो भइरहन्छ । माटोका घर हिमाली क्षेत्रका बस्तीको मौलिकता भए पनि वातावरणीय प्रभावका कारण यहाँका बस्ती उच्च जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।

बढ्दो तापक्रमसँगै पानी पर्ने क्रम बढ्दा माटोको सहरको मौलिकता नै धरापमा परेको छ नै यसले हिमाली क्षेत्रमा बाढी–पहिराको प्रकोप बढ्नुका साथै कृषि प्रणाली पनि प्रत्यक्ष प्रभावित बनेको छ । तापक्रम बढेसँगै चाँदीजस्तै टलक्क टल्कने हिमालहरू बर्सेनि कालापत्थरमा परिणत भएका छन् ।

मुस्ताङको लोमन्थाङमा माटोनिर्मित संरचना । पछिल्ला वर्षमा बढ्दाे तापमान वृद्धिसँगै हिमाली बस्तीमा पानी पर्न थालेपछि यी संरचनाहरू धरापमा पर्दै गएका छन् । तस्बिरः वासुदेव पौडेल/रासस

हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढ्नु, कृषि प्रणालीमा परिवर्तन आउनु लगायतका विषय जलवायु परिवर्तनको असरसँग जोडेर हेर्न सकिने विगत लामो समयदेखि हिमाली क्षेत्रका विभिन्न विषयमा अनुसन्धान गर्दै आउनुभएका पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत रामचन्द्र बराल बताउनुहुन्छ । स्याउ खेती माथिल्ला भागतर्फ फैलँदै गएको विषयलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै अनुसन्धाता बरालले आजभन्दा नौ वर्ष अघि २०७० सालमा मुस्ताङको अनुसन्धानात्मक भ्रमणको अनुभव सुनाउनुभयो ।

तत्कालीन समयमा ठाउँअनुसार प्रतिकिलो स्याउ मार्फामा ६०, झारकोटमा एक सय र झोङमा एक सय ५० रुपैयाँ तिरेको अनुभव सुनाउँदै उहाँले उचाइअनुसार स्याउको स्वाद झन् झन् मिठो पाइएको बताउनुभयो ।

पछिल्ला वर्षमा मुस्ताङको यारा, घमीलगायतका उच्च हिमाली क्षेत्रमा स्याउको बगैँचा निर्माणमा आकर्षण बढिरहेको बरालले बताउनुभयो ।

बढ्दो तापक्रमकै कारण तराई र मधेसका फाँटमा मात्र पाइने लामखुट्टे पहाड हुँदै हिमाल चढिसकेको छ । विगतमा लामखुट्टेको नामसमेत नसुन्ने यस क्षेत्रमा अहिले भने झुल पुग्ने गरेको छ । उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमीलगायतका ठाउँमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि ती ठाउँमा खानेपानीको अभाव बढ्दै गएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई एक दशकअघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिएको थियो ।    

‘पहिले पहिले मनसुनले हिमाल चढ्दैन भन्ने गरिन्थ्यो, अहिले भने मनसुनले हिमाल पार गरिसकेको छ’, अनुसन्धाता बरालले भन्नुभयो, ‘गएको वर्ष हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा अप्रत्याशित आएको बाढी यसको ज्वलन्त उदाहरण हो ।’ 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया