मुस्ताङको स्याउलाई 'कोल्डस्टोर', अब बेमाैसममा पनि खान पाइने

 साउन २५, २०७९ बुधबार १६:८:१४ | रासस
unn.prixa.net

मुस्ताङ – रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि कोल्डस्टोरको व्यवस्था भएपछि नेपाली उपभोक्ताले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् ।

मुस्ताङका स्याउ उत्पादक किसानले आर्थिक वर्ष २०७७/७८ मा एप्पल जोन को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेमौसममा पनि स्याउ खान पाइने भएको हो ।

मुस्ताङ घरपजोङ गाउँपालिका ५ का कर्म गुरुङले १६ लाख रुपैयाँको कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आउनुभएको छ । उहाँले एप्पल जोन कार्यक्रमबाट आठ लाख अनुदान पाएपछि आठ लाख थपेर कोल्डस्टोर खरिद गरेको जानकारी दिनुभयो । ‘कोल्डस्टोर नहुँदा बिक्री नभएका स्याउहरू कुहिएर खेर जाने र लामो समयसम्म राख्न नहुने समस्या हुन्थ्यो तर अब त्यो समस्या हटेको छ’, उहाँले भन्नुभयो ।

सरकारले मुस्ताङलाई स्याउ जोनका रूपमा परिभाषित गरी अनुदानका कार्यक्रम उपलब्ध गराउन थालेपछि यस जिल्लाका स्याउ किसान हौसिएका छन् । मल, बिरुवा, कोल्डस्टोर, ढुवानी तथा औषधि खर्च अनुदानमा प्राप्त गर्न थालेपछि स्याउ उत्पादक किसानलाई सजिलो भएको गुरुङले बताउनुभयो ।

स्याउका लागि मल खरिद गर्न आफूले यो वर्ष कृषि ज्ञान केन्द्रबाट १७ हजार, एक हजार पाँच सय स्याउका बिरुवा र ढुवानी तथा औषधोपचारका लागि भनेर ३५ हजार रुपैयाँ पनि अनुदान पाएको उहाँको भनाइ छ ।

मुस्ताङको एक हजार दुई सय हेक्टर जमिनमा अहिले व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ । झन्डै ६ सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले उत्पादन लिन थालेका र बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमै स्याउका बिरुवासमेत उत्पादन हुन थालेपछि सजिलो भएको किसानको भनाइ छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छन् । २०२३ सालमा मुस्ताङको मार्फामा बागवानी केन्द्र स्थापना भएपछि मुस्ताङमा स्याउ खेतीप्रति आकर्षण बढेको हो । त्यही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मिरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ ।

मुस्ताङमा स्याउ उत्पादन गर्न कठिन नभए पनि बजारीकरणका लागि यातायातको निकै समस्या रहेको स्याउ किसान टीका शेरचनले बताउनुभयो । ‘सरकारले पछिल्लो समय अनुदान वृद्धि गरेर सजिलो त भएको छ तर कठिन भूगोलका कारण ढुवानी र बजारीकरणमा समस्या छ’, शेरचनले भन्नुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङलाई देशका विभिन्न सहरसँग जोड्ने एक मात्र स्थलमार्ग बेनी–जोमसोम सडक स्तरोन्नतिकै चरणमा रहेकाले ढुवानीका लागि सजिलो नभएको किसानको गुनासो छ । मुस्ताङमा हिउँ पहिरो जाने, पहिरो र बाढीका कारण सडक बन्द हुनेजस्ता समस्याले गर्दा यहाँ उत्पादित स्याउ उपभोक्ताले चाहेको समयमा पाउन नसकेका गुरुङले बताउनुभयो । एक सिजनमा एक सय ५० टनदेखि दुई सय टनसम्म स्याउ उत्पादन गरी बिक्री गर्दै आएको गुरुङले बताउनुभयो । स्याउ बिक्रीबाट नै अहिलेसम्म एक करोड रुपैयाँ जतिको सम्पत्ति जोडेको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका अनुसार हरेक वर्ष मुस्ताङी किसानले कम्तीमा पनि पाँच हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन गर्दै आएका छन् । उत्पादनका हिसाबले ५० देखि ७० करोड रुपैयाँको स्याउ मुस्ताङबाट हरेक वर्ष निर्यात हुने गरेको तथ्याङ्क छ । नेपालमा वर्षमा झन्डै छ अर्ब रुपैयाँभन्दा धेरैको स्याउको कारोबार हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया