ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
बाग्लुङ - गएराति ढोरपाटन नगरपालिका–५ साहुथोकमा खसेको पहिराेले भुजीखोला थुनिएपछि स्थानीयमा एकाएक त्रास छायो । भुजी किनारका बासिन्दा दुई वर्षअघिको त्रासदीपूर्ण घटना सम्झेर झस्किए । कुनै विपद् आइनलागोस् भने कामना गरिरहे ।
भाग्यवश थुनिएको आधा घण्टापछि खोला पुरानै धारतिर सोझियो । कुनैखाले क्षति निम्तिएन । खोला थुनिँदा बनेको ताल एक्कासी फुटेर बाढीको रुप लिने खतरा टर्यो । खोला बग्न लागेको थाहा पाएपछि गाउँलेले शान्तिको सास फेरे ।
भुजीखोला त्यही खोला हो जसले २०७७ साल भदौ १७ गते मध्यरातमा बितण्डा मच्चाएको थियो । बाइस जनाको ज्यान गएकाे थियाे र १५ जना बेपत्ता हुने गरी भएको बाढीको घटनालाई स्थानीयले ‘कालो दिन’का रुपमा सम्झन्छन् । सालिन्दा बर्खा याम आउँदा त्यही अप्रिय घटना बल्झेर आउँछ ।
ढोरपाटन–९ लाकुँरीबोटका भीमबहादुर सुनारले अहिले पनि ठूलो वर्षा हुँदा घर छाडेर विद्यालयमा आश्रय लिने गरेको बताउनुभयो । 'अहिले पनि बेलाबेला खोलाले तर्साउँछ, घरछेउमै भल आउँछ', उहाँले भन्नुभयो, 'सुरक्षित बसोबासका लागि कसैले पनि पहल गरेनन्, हामी अझै पीडामा छौँ ।'
दुई वर्षअघिको बाढीले सुनारको पसलसहित घर बगाएको थियो । अहिले लाकुँरीबोटमै अस्थायी टहरा बनाएर बसेको उहाँले सुनाउनुभयो । खोलाछेउ जोखिम भए पनि जीविकाका लागि बस्नुपरेको उहाँको भनाइ छ। 'अन्त कहाँ जाने जग्गा, सम्पत्ति केही छैन, यहीँ छाप्रो हालेर सानो पसल गरेको छु', सुनारले भन्नुभयो ।
त्यस बाढीको घटनामा प्रियजन गुमाउनेको पीडा त झन् गहिरो छ । थातथलो, जायजेथा बाढीमा बगेर कतिको त उठिबास नै भएको थियो । ढोरपाटन–५ का अध्यक्ष दीपेन्द्र पुनमगरले गएराति भुजीखोला थुनिँदा आफूहरु घटनास्थलमै रहेको बताउनुभयो ।
'साहुथोक भन्नेमा पहिरो जाँदा खोला थुनिएको हो, आधा घण्टामै खोला बग्न सुरु गर्यो', उहाँले भन्नुभयो, 'तटीय क्षेत्रका बासिन्दा दुई वर्षअघिको घटना सम्झेर त्रसित बनेका थिए, धन्न कुनै क्षति हुन पाएन ।' उहाँले बाढीपहिराेको रोकथाम र खोला नियन्त्रणमा कसैले चासो नदिएकाले कुनै पनि बेला विपद् निम्तन सक्ने बताउनुभयो ।
ठाडो खोला र कमसल भू–बनोटका कारण खोला किनार छेउछाउका बस्तीमा बाढीपहिराेको जोखिम छ । उहाँले खोला नियन्त्रण र बस्ती विकासको दीर्घकालीन योजना ल्याउनुपर्ने धारणा राख्नुभयो । स्थानीय शिक्षक जुनकुमार विकले बर्सातका बेला भुजीखोला आसपासका बासिन्दा भयमा बाँच्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
'पानी पर्दा ढुक्कले निदाउन सकिन्न, कहाँ के हुने हो भन्ने त्रास भइरहन्छ', उहाँले भन्नुभयो, 'यहाँ बाढी प्रभावितलाई पनि आश्वासन मात्र देखाउने काम भयो, उनीहरुको पुनःस्थापनामा राज्यका निकायले पनि बेवास्ता गरे ।' त्यसबेला बाढी प्रभावित ठाउँमै पुगेर स्थानीयदेखि सङ्घ सरकारसम्मका पदाधिकारीले पीडितको घर पुनःनिर्माण गरिदिने बताएका थिए।
सङ्घ र प्रदेश सरकारबाट बाढीपीडितको पुनःस्थापनाका लागि कुनै सहयोग नआएको स्थानीयको गुनासो छ । देश विदेशबाट ढोरपाटन नगरपालिकाको राहत कोषमा जम्मा भएको पैसाबाट भने राहत सामग्री वितरण गरिएको थियो । राहत मात्र दिएर नहुने भन्दै बाढीपीडितको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवाज उठ्ने गरेको छ।
२०७७ साल असोजमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि गण्डकी प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय नै राखेर पुनःनिर्माणको काम थाल्ने भनी जनाएको प्रतिबद्धता पनि लागू हुन सकेन।
बाढीले क्षति पुर्याएका सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायतका भौतिक संरचना पुनःनिर्माणका लागि नगरपालिकाको केन्द्र बुर्तिबाङमा त्यस्तो कार्यालय स्थापना गर्ने जनाइएको थियो । दुई वर्ष बित्न लाग्दासमेत न कार्यालय नै राखियो, न त पुनःनिर्माणको काम नै अघि बढ्यो।
भुजीखोलाको बाढीपछि जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम थाल्ने सरकारी घोषणा पनि अलपत्र परेको छ । बाढी प्रभावित भने अझै पनि तीनै तहका सरकारका तर्फबाट आएको पुनःस्थापनाको प्रतिबद्धता पूरा हुनेमा आशावादी छन् । बाढीले सबैभन्दा बढी वडा नं ९ मा क्षति पुर्याएको थियो।
त्यहाँका मात्र १ सय ३ घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको थियो । यस्तै वडा नं ८ का ८ घर पूर्ण र ९ घरमा आंशिक क्षति पुगेको थियो । बाढीबाट वडा नं ७, ६ र ५ सम्मै प्रभावित भएको थियो । लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टेचौर, चेप्टाजुर, दुवाल, फल्लेघरलगायतका बस्तीमा सबैभन्दा बढी क्षति पुगेको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।