कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु

 साउन ३०, २०७९ सोमबार ८:४६:१५ | रासस
unn.prixa.net

कैलाली - कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु गरेको छ । नगरपालिकाले आवको आउँदाे भदौ महिनाबाटै विकास योजना कार्यान्वयनका लागि वडास्तरमा उपभोक्ता समिति गठन थालेको छ । 

टीकापुर –२ ले उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरेको छ । वडाले विभिन्न टोलमा १४ उपभोक्ता समिति गठनका लागि सूचना गरेको छ । वडाले भदौ १ गतेबाट भदौ ७ गतेसम्म समिति गठन गरिसक्ने गरी काम थालेको वडाध्यक्ष दीपक चौधरीले जानकारी दिनुभयो । 'कार्यालयले भदौ १५ गतेभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ । त्यहीअनुसार हामी भदौ ७ गतेसम्म गठन गरिसक्ने गरी तालिका बनाएर काममा लागेका छौँ', उहाँले भन्नुभयो, 'वडास्तरमा हुने साना योजना उपभोक्ता समितिमार्फत काम गरिनेछन् ।'

टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि कार्यालयको निर्देशनअनुसार वडामा सात उपभोक्ता समिति गठन गर्नुपर्ने भएकाले आफूहरु भदौ ४ गतेबाट उपभोक्ता समिति गठन कार्यमा जुट्ने जानकारी दिनुभयो । 'वडामा बाटो ग्राभेल, माटो पटानी, सडक निर्माणजस्ता कार्य उपभोक्ता समितिमार्फत गरिनेछन्', उहाँले भन्नुभयो, 'त्यसका लागि हामी समुदायमा टोल भेला गरेर उपभोक्ता समिति गठन गर्ने तयारीमा छाैँ।'

वडा नं १ मा प्रायजसाे विकास योजना ठेक्का प्रणालीबाट सञ्चालन गरिने र बाँकी योजनालाई विगतका दिनभन्दा केही फरक तरिकाले सञ्चालन गर्न समिति गठन गरिने वडाध्यक्ष मोहन विकले बताउनुभयो । 'पालिकामा पूर्वाधारअन्तर्गतका भवन निर्माण, सडक कालोपत्रेजस्ता ठूला योजना बोलपत्रमार्फत सूचना गरेर ठेक्का प्रणालीबाट काम गरिन्छ',उहाँले भन्नुहुन्छ, 'हाम्रो वडामा धेरै काम ठेक्का प्रणालीमार्फत हुनेछन् । हामी अहिलेबाटै योजना कार्यान्वयनमा खटेकाले यस वर्ष असारको अन्त्यमा कामको भार कम हुनेछ ।'

भदौ महिनामै उपभोक्ता समिति गठन गरेमा समयमै लागत अनुमान, सम्झौतालगायतका कार्य गरेर कात्तिक, मङ्सिरसम्म योजना सम्पन्न गरिसक्ने गरी काम गराउने तयारीमा पालिका रहेको छ । समयमै योजना कार्यान्वयन सुरु भएमा आवको अन्त्यमा हुने चाप घटाउने तयारीमा पालिका रहेको छ । नगरपालिकाले नीतिगतरुपमै असार विकासलाई निरुत्साहित गरेको छ । पालिकाले भदौ महिनाबाटै योजना तथा बजेट कार्यान्वयन गरी वैशाख महिनालाई भुक्तानीको महिनाका रुपमा काम गर्ने योजना बनाएको बताएको छ । 

नगरपालिकाले सबै वडामा भदौ १५ गतेभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ । नगरपालिकाले आवको सुरुआतमै सक्रिय भएमा आवको अन्त्यमा कामको भार कम हुने र आउँदाे वर्षका योजना छनोट गर्न सहज हुने भएकाले समयमै काम थालेको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही बताउनुभयो, 'आवको सुरुआती चरणमा सक्रिय भएमा कामको भार घट्ने भएकाले हामी अहिले नै सक्रिय भएका हौँ', उहाँले भन्नुभयो, 'पूर्वाधारतर्फका योजना निर्माण र बजेट कार्यान्वयन प्रभावकारी बनाउन हामी काममा खटेका हौँ, समयमै योजना कार्यान्वयन भएमा आवको अन्त्यमा आउँदाे वर्षका योजना बनाउन सहज हुन्छ ।'

नगरपालिकाले यस आवमा विकास योजना वैशाखभित्रै सक्ने गरी काम थालेको बताएको छ । नगर उपमेयर खडकबहादुर शाह चालु आवदेखि वैशाख महिनालाई भुक्तानी लिने महिनाका रुपमा काम गर्ने बताउनुहुन्छ । 'हामी चालु वर्षमा वैशाख महिना भुक्तानीको महिनाका रुपमा काम गर्छौँ, पालिकाका सबै योजना चैतसम्म सम्पन्न गरिसक्ने गरी काम गर्छौँ', उहाँ भन्नुहुन्छ, 'यस वर्ष हामीले ठेक्कामार्फत सञ्चालन हुने योजनाको समेत म्याद थप गरिने छैन । तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।' 

नगरपालिकामा यस वर्ष पूर्वाधारतर्फ १ सय ८५ योजना रहेका छन् । यी योजनामा साना योजना सडक पटानी, ग्राभेल, कल्भर्ट निर्माणजस्ता योजना उपभोक्तामार्फत र सडक कालोपत्रे, भवन निर्माणजस्ता ठूलो बजेटका योजना ठेक्कामार्फत सञ्चालन गर्ने गरिएका छन् । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया