वार्ता, सहमति र अवरोधमै रुमल्लिएको काठमाण्डौको फोहर

 भदौ २, २०७९ बिहीबार ११:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौको सडकमा फाेहरको थुप्रो झन्झन् चुलिँदैछ । फाेहर व्यवस्थापन भइरहेको ठाउँ बञ्चरेडाँडामा प्रहरी लगाएर पनि फाेहर फाल्न सकिएको छैन । फाेहर फाल्ने विषयमा बुधवार बेलुका सहमति त भएको छ । तर सहमति कार्यान्वयन हुनेमा अझै आशङ्का छ ।

पछिल्लोपटक साउन २३ गते राति फोहर विर्सजनका लागि बञ्चरेडाँडामा राखिएका गाडीमा नचिनेकाे व्यक्तिकाे समूहले तोडफोड गर्याे । त्यसयता काठमाण्डौ महानगरपालिकाले सहज ढङ्गले फोहर विसर्जन गर्न सकिरहेको छैन । 

सहमति गर्ने तर त्यसको पालना नगर्ने यसअघिको व्यवहारले आजित भएका बञ्चरेडाँडावासी अहिलेको सहमति पनि कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्छन् । अहिले सहमति भएको समूहभन्दा भिन्न बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले पनि यस अघि पटक पटक १८ बुँदे माग राखेर आन्दोलन गरेको थियो । समितिले आफ्ना माग पूरा नभएकोमा भदौ १ गतेदेखि आन्दोलन गर्ने घोषणासमेत गरेको थियो । तर, माग पूरा गर्नका लागि भनि गएको साउन २९ गते सहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र त्यो टोलीले तयार पारेको प्रतिवेदन अनुसार काम अगाडि बढाउने निर्णय गरेपछि आन्दोलन स्थगित गरिएको समितिका संयोजक श्रीराम ढुङ्गानाले बताउनु भयो । 

ढुङ्गानाका अनुसार सरकारले प्राविधिक परामर्शदाता नियुक्त गरी ३ महिनामा प्रतिवेदन बुझाउने सम्झौताको पत्र दिएपछि आन्दोलन स्थगित गरिएको हो । ढुङ्गाना अगाडि भन्नुहुन्छ, ‘यत्रा १७/१८ वर्ष हामीले भनेको कुरो लागू भएन भनेर बारम्बार आन्दोलन गर्नुपर्यो । तर, अब सरकारले हामी कार्यान्वयन गर्छौँ, ३ महिनाको समय दिनुस् भन्दा कानुन हातमा लिएर हामीले मान्दैनौँ भन्न मिल्छ र ?’

तर, बञ्चरेडाँडा ल्याण्डफिल साइट रहेको धुनिबेसी नगरपालिका १ नं वडाका वडाध्यक्ष मानबहादुर तामाङ भने सरकारसँग पहिले भएका सम्झौता कार्यान्वयन नभएका कारण त्यहाँका स्थानीय आन्दोलन गर्न बाध्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकारसँग पहिले भएको १८ बुँदे सम्झौता कार्यान्वय नभएको हुँदा त्यहाँका स्थानीय आन्दोलित भएका हुन् ।’

तामाङ सरकारसँग सम्झौता भएको भनिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका बारेमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । तामाङ भन्नुहुन्छ, ‘फोहर व्यवस्थापनसँगै सरकारसँग हिजो भएका सम्झौता कति कार्यान्वयन भए कहाँ पुगे भन्ने सन्दर्भमा स्थानीयले पहिलेदेखि आन्दोलन गरिरहेको र अहिले भएको आन्दोलन पनि यसैको उपज हो ।’ 
आन्दोलनका कारण फोहर फाल्न अवरोध भएपछि फोहर फाल्न गएका गाडी फोहर फाल्न नपाएर त्यसै बस्थे तर, अब सहमति भएपछि व्यवधान उत्पन्न नहुनेमा आफू आशावादी रहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनुहुन्छ । 

फाेहर बोकेका गाडीले लिचेड चुहाउँदै ल्याउने, बाटो मर्मत नगर्ने, बाटो सधैँ हिलो र धुलो हुँदा पनि मर्मत नगर्ने तथा केही वास्ता नगर्ने, फाेहर फालेको ठाउँमा जुन किसिमले ग्याल्भिङ गर्नुपर्ने हो नगर्ने, त्यहीँ ल्याएर फोहर छान्ने जस्ता कारण देखाउँदै स्थानीयले फाेहर फाल्न अवरोध गर्दै आएका छन् । जुन कुरा हटाउने सन्दर्भमा अहिले सहमति भएको हो ।

पटक पटक विभिन्न समूहसँग वार्ता हुने र एउटा समूहसँग भएको वार्ता हामी मान्दैनौँ भन्दै अर्को समूह जन्मिने कारणले सबैसँग वार्ता र सहमति गर्न गाह्रो भएको मानन्धर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी कुनै समूहभन्दा पनि धुनिबेसी नगरपालिकासँग प्रतिनिधित्व हुने गरी वार्ता होस् भन्ने हाम्रो चाहना हो । नगरपालिकाले त्यसको जिम्मेवारी लिएर अघि बढ्यो भने भोलि नगरपालिकाबीच कुरा गर्न पनि सजिलो हुन्छ ।’

केही दिनअघि धुनिबेसी नगरपालिकाका वडा नं १ का कांग्रेस, माओवादी र एकीकृत समाजवादीका अध्यक्षहरुले फाेहर फाल्न नदिने विज्ञप्ति निकालेपछि फाेहरमा राजनीति मिसिएको भन्दै चर्को आलोचना भयो। तर बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक ढुङ्गाना भने यसमा राजनीति नभएको र मेयर बालेन शाहलाई असफल बनाउने कुनै नीति नरहेको दाबी गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘सरोकारको विषय भएको हुनाले बालेनजी अगाडि पर्नुभयो । उहाँलाई असफल बनाउने अथवा स्वतन्त्रलाई असफल बनाउने भन्ने केही छैन । उहाँ त हाम्रो अभिभावक हो । अभिभावकका अगाडि आफ्ना समस्या त राख्नै पर्यो । अभिभावकका अगाडि समस्या नराखेर कहाँ राख्नु ।’

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया