भरतपुरको मुहार फेर्न दिन–रात खटिरहेका छौँ : रेनु दाहाल

 भदौ ५, २०७९ आइतबार १६:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र (दिन–रात) खटिरहेको बताउनुभएको छ । आइतवार भरतपुर १७ मा रहेकाे धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको नागरिककाे मुहारमा खुसी ल्याउने गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो ।

मेयर दाहालले विगत पाँच वर्षमा पूरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिँदै नागरिककाे इच्छा र चाहनालाई सम्बोधन गर्दै अबको पाँच वर्ष अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भरतपुरलाई नेपालकै नमुना महानगरका रूपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सु–संस्कृति सहरका रूपमा परिचित हुने क्रममा रहेको उहाँकाे भनाइ थियाे । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुदाँ देशभरबाट हेर्न आउने सहर बन्ने मेयर दाहालले बताउनुभयो ।

‘भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ’, उहाँले भन्नुभयो, ‘जनताको हेरक सुख दुःखमा स्थानीय सरकार साथमा छ । महानगरवासीको इच्छा र चाहानाअनुसार विकासको कामलाई अगाडि बढाएको छौँ । धेरै काम गर्न बाँकी छ । पाँच वर्षमा धेरै काम गर्न सकिन्छ ।’

सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब नागरिकलाई कसरी खुसी बनाउन सकिन्छ भन्नेतर्फ महानगरपालिकाले ध्यान केन्द्रित गरेको मेयर दाहालको भनाइ थियो । सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रवर्द्धन गर्ने नीति लिएको उहाँले स्पष्ट पार्नुभयो ।

महानगरपालिकाले प्राथमिकताका आधारमा सबै क्षेत्रलाई हरेक वर्ष बजेट विनियोजन गरी विकासको कामलाई अगाडि लैजाने गरेको मेयर दाहालले बताउनुभयो । भरतपुरमा निर्माणधीन योजनामा जनस्तरबाट अनुगमन गर्ने, खबरदारी गरी समयमै काम सम्पन्न गराउन स्थानीयवासीले भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा थियो । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया