चुनाव प्रचारमा २५ जनाभन्दा बढी जान नपाउने आयोगको प्रस्ताव

 भदौ ६, २०७९ सोमबार १६:४८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । 

आज सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताउनुभएको हो । उहाँले चुनावमा मतदातालाई अनेकौँ प्रलोभन पार्ने तथा सांसदहरूले नै चुनाव लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचारप्रसारका लागि २५ जनाभन्दा बढी जान नपाउने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताउनुभयो ।

प्रवक्ता पाैडेलले चुनावमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि उल्लेख गर्नुभयाे । चुनावमा उम्मेदवार बनाएका राजनीतिक दलको मात्रै चुनाव चिह्न मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धन लक्षित देखियो भन्ने सञ्चारकर्मीकाे प्रश्नको जवाफमा उहाँले चुनावमा भाग नलिएको दलको चुनाव चिह्न राख्नु सैद्धान्तिक र व्यावहारिक रूपमा ठिक नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनावमा खर्च धेरै भयो । उम्मेदवार भए पनि चुनाव लड्न समस्या भयो भन्ने भनाइलाई मनन गरेर २५ जनासम्म भेला भएर प्रसारप्रसार गर्नुपर्ने आयोगको घारणा हो । उम्मेदवार नभएको व्यक्ति वा राजनीतिक दलको चुनाव चिन्ह राख्ने कुरा हुँदैन । जो चुनावमा भाग लिँदैन उसको चुनाव चिह्न राख्न सैद्धान्तिक र व्यावहारिक पनि हुँदैन । याे कुनै दललाई लक्षित गरेर गर्न खोजिएको विषय होइन ।’

प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलको मिश्रित सल्लाह, सुझाव आएको जानकारी दिनुभयो । उहाँले आयोगले राजनीतिक दलका सबै सुझावलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताउनुभयो । राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गर्ने जिम्मेवारी लिन पनि उहाँकाे आग्रह छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया