सङ्खुवासभा : सिलिचोङका पहिरो विस्थापित ५५ परिवारले पाए दुई वर्षपछि खाँदबारीमा जग्गा

 भदौ ९, २०७९ बिहिबार १२:२१:४१ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोबाट विस्थापितले खाँदबारीमा जग्गा पाएका छन् । पहिरोबाट विस्थापित बनेको दुई वर्षपछि उनीहरुले आफ्नै नाममा लालपुर्जासहित जग्गा पाएका हुन्।

जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्त रुपमा पहिरो विस्थापितलाई गोलाप्रथा गरी जग्गा बाँडफाँट गरेको हो । खाँदबारी नगरपालिका–७ मा रहेकाे भैरेडाँडामा ५५ परिवारको लागि ६९ रोपनी जग्गा १ करोड ३० लाख रुपैयाँमा खरिद गरिएको थियो । सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित ५५ घरपरिवारलाई जग्गा बाँडफाँट गरिएको हो ।

२०७७ साल असार २७ गते राति गएको पहिरोबाट ९२ घरपरिवार विस्थापित भएका थिए । तीमध्ये ५५ घरपरिवारले खाँदबारी नगरपालिकामा बस्न जग्गा व्यवस्थापन माग गरेका थिए । त्यस्तै बाँकी पहिरो विस्थापितलाई सिलिचोङको चित्रेमा २५ घरपरिवार र चेप्चेवाको बखल्टुमटार गाउँमा १२ घरपरिवारलाई स्थानान्तरण गर्ने गरी जग्गा खरिद गरिएको छ ।

चित्रेमा ५१ दशमलव ५ रोपनी ७० लाख रुपैयाँ र बखल्टुमटारमा १७ दशमलव ५ रोपनी जग्गा ३४ लाखमा खरिद गरी पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको सिलिचोङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले बताउनुभयो । उहाँले पहिरो विस्थापितको नाममा खरिद गरिएको जग्गा चाँडै बाँडफाँट गरिने पनि बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले २०७८ फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रकृया अगाडि बढेको थियो । सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरिएको हो । पहिरो विस्थापितलाई एकै ठाउँमा कम्तीमा १० घरपरिवार राख्ने गरी एकीकृत बस्ती अनुसार अगाडि बढेको हो ।

एकीकृत बस्तीमा खानेपानी, विद्युतीकरणलगायतका सेवा सुविधा समेत स्थानीय सरकारले उपलब्ध गराउनेछ । आफ्नै नाममा लालपुर्जा पाएपछि पहिरो विस्थापित खुशी भएका छन् । सिङ्गो गाउँ नै पहिरोले बगाएपछि बेसिन्दा र चेप्चेवाका नागरिक विस्थापित बनेका थिए । पहिरोमा परि ११ जना अझै बेपत्ता छन् । यसअघि २०६७ सालमा सिलिचोङकै सिकदिममा पहिरो जाँदा नागरिक विस्थापित बनेका थिए । 

अन्तिम अपडेट: चैत २९, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया