मेयरले कुटे लेखापाल, लेखापालले हाले मुद्दा

 असोज ११, २०७५ बिहिबार १५:३२:५५ | शैलेन्द्र महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले लेखापालमाथि हातपात गर्नुभएकाे छ ।

बुधबार नगरपालिका कार्यालयमै मेयर साहले लेखापाल पवन अधिकारीलाई झापडले हिर्काएका हुन् ।

आफूमाथि कार्यालयमै हरहिसाबको विषयमा समान्य विवाद हुँदा मेयर साहले झापड हिर्काएको पीडित लेखापाल अधिकारीले दुखेसो पोख्नुभयो । उहाँले गुनासो गर्दै भन्नुभयो, ‘ममाथि मेयर साहले हातपात र दुर्व्यवहार गरेको कुरा महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी गराइएको छ । अब मेयर साहको कार्वाहीको लागि प्रशासनमा लिखित निवेदन दिएर अघि बढ्छु ।’

लेखापाल अधिकारीले मेयर साहले यसअघि पनि एक कर्मचारीलाई कुटपिट गरेको र उद्दण्ड शैलीको रहेको आरोप लगाउनुभयो ।

यता मेयर साहले लेखापाल अधिकारीसँग गत आर्थिक वर्ष २०७४।०७५ को हरहिसाब माग गर्दा उल्टै धम्काएपछि एक झापड हिर्काएको स्वीकार गर्नुभएको छ ।

‘पटक पटक हरहिसाब मागें । तर दिएनन् । गएकाे साउन ११ गते मैले निवेदन समेत दिएँ । तर कुनै वास्ता गरेनन् । आलटाल गर्दै आइरहेका छन् ।’ मेयर साहले भन्नुभयो ‘बुधबार यसै विषयमा कुरा गर्दा लेखापाल अधिकारीले तपाई‌ंलाई जे गर्नुछ गर्नुस्, म हिसाब दिन्न भनेपछि मैले आवेशमा एक झापड हिर्काएँ ।’

मेयर साहले लेखापाल अधिकारीको काम ठीक नभएको र मेयरलगायत प्रमुख प्रशासकीय अधिकृत कसैलाई नटेर्ने गरेको आरोप लगाउनुभयो । आफूले यसअघि कुनै कर्मचारीमाथि हातपात नगरेको समेत मेयर साहको दावी छ ।    

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया