कांग्रेस र कम्युनिस्टले केही गर्न सकेनन् भने नयाँ पार्टीले के गर्ला ? : नेता सिंह

 भदौ २५, २०७९ शनिबार १२:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्नुभएको छ । 

शनिवार बानेश्वरमा कुमाले धारा मर्मत–सम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले रविन्द्र मिश्रप्रति इङ्गित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्न नहुने बताउनुभयो । उहाँले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनुजस्तो नभएको भन्दै मिश्रलाई पार्टी टिकाएर देखाउन चुनौती दिनुभयो । 

देश विकास गर्न पुराना पार्टी कांग्रेस र कम्युनिस्टलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीले कुनै काम गर्न नसक्ने नेता सिंहले जिकिर गर्नुभयो । उहाँले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयाे, ‘यहाँ पुराना दलहरूले केही गर्न सकेनन् भने अरू कसले गर्न सक्ला त ? गर्न सकेन भनेर कराउने अधिकार कसले दियो ? त्यही पुराना दल कांग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन । स्थापना गरेको दलललाई एक वर्ष टिकाउन नसक्नेहरूले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ ? नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि । नाराले केही काम हुँदैन । पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छाैँ भनेर गर्न सकिन्छ र ? परिवर्तन गर्ने नारा बोकेर आयो एउटा दल । परिवर्तन के गर्छ भनेको आफूले खोलेको दललाई सम्हाल्नसम्म सकेन । अहिले के गरिरहेको छ ? राजनीति सजिलो छ ? पार्टी खोल्ने भनेको नाङ्लोमा पसल खोलेकोजस्तो होइन । कांग्रेस र कम्युनिस्टजस्तो पुरानो पार्टीलाई त गाह्रो छ भने नयाँ दलले कसरी काम गर्न सक्छन् ? आफ्नो नाममा दर्ता भएको दललाई त दुई वर्ष टिकाउन सक्दैनन् भने यिनीहरूले काम गरेर देखाउन सक्ला ?’ 

कार्यक्रममा बाेल्दै नेता सिंहले पालिका र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा सङ्घीयतामाथि प्रश्न उठेको बताउनुभयो । उहाँले जनताको बहुमत पाउँदा समेत कम्युनिस्ट पार्टीहरूले सङ्घीयताका कानुन नबनाइदिँदा सङ्घीयतामाथि प्रश्न उठेको आरोप पनि लगाउनुभयो । नेता सिंहले ट्र्याकबाट बाहिर गएको देशलाई ट्र्याकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको दाबी गर्दै आउँदाे चुनाव जितेर कांग्रेसले देश विकास गर्ने जिकिर गर्नुभयाे ।  

उहाँले भन्नुभयो, ‘पालिका र प्रदेश सरकारलाई दिनुपर्ने अधिकार कानुनहरू नबनाइदिएका कारण प्रश्न उठेकाे छ । बहुमत पाएर पनि कम्युनिस्टहरूले काम गर्न नसक्दा याे अवस्था आएकाे हाे । गठबन्धन बनाएर देशलाई ट्र्याकमा ल्याएका छौँ ’

नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेकाे उल्लेख गर्नुभयाे । शिक्षा दिनेसँगै सीप दिने कामको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । 

नेता सिंहले आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको दाबी गर्नुभयाे । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको उहाँकाे जिकिर छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया