‘बिजुली बेच्ने प्राधिकरणकाे लक्ष्य हाेइन, यतै खपत बढाएर उज्यालाे नेपाल बनाउने उद्देश्य साकार पार्ने हाे’

 असोज ४, २०७९ मंगलबार १९:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको उद्देश्य बिजुली निर्यात गर्ने नभएको बताउनुभएको छ । 

मङ्गलवार सुन्दर यातायात प्रालीले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले प्राधिकरणको मुख्य उद्देश्य भारतमा बिजुली निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गर्नुभयो । 

घिसिङले बिजुलीकाे खपत बढाउनका लागि हरेक घरमा खाना पकाउनदेखि गाडीसमेत विद्युतीय ल्याउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा नै बिजुली खपत गर्नसके देशको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्‍याउने बताउनु भयो । बिजुली निर्यात गरेर भन्दा खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने उहाँले जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘प्राधिकरणको मुख्य उद्देश्य बिजुली निर्यात गर्ने होइन, खपत गर्ने हो । नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत गरेर समृद्ध नेपाल बनाउँदै उज्ज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्ने हो । घरमा खाना पकाउनदेखि गाडीसमेत बिजुलीकाे प्रयोग गर्नुपर्छ । त्यसपछि मात्रै बिजुलीकाे माग बढ्छ र नेपालको बिजुली नेपालमा नै खपत हुन्छ । निर्यात गरेर भन्दा बिजुली खपत गरेर योगदान बढी गर्न सक्छौँ । तर खपत नहुँदा बिजुली खेर फाल्नुभन्दा निर्यात नै गर्ने हो ।’

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले पछिल्लो एक सय दिनमा सात अर्ब २० करोड रुपैयाँ बराबरको बिजुली भारतमा निर्यात गरेको बताउनुभयो । विश्वमा बिजुली सङ्कट भएर युरोपमा एक युनिट बिजुलीकाे मूल्य झन्डै एक डलर रहेको बेला नेपालले भारतमा बिजुली निर्यात गर्नु देशकाे विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने उहाँकाे भनाइ थियाे । 

घिसिङले नेपालमा खाना पकाउनदेखि गाडीसमेत बिजुलीकाे प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गर्नुभयो । उहाँले हरेक काममा बिजुली प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्ब रुपैयाँको विद्युत खपत हुने बताउनुभयो । 

कार्यकारी निर्देशक घिसिङले अब विद्युतीय चार्जिङ स्टेशन देशभर बनाउने लहर चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले चार्जिङ स्टेशन बनाउनका लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउनुभयो । निजी क्षेत्रले चाजिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत् र ट्रान्सफर राखिदिने उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया