भक्तपुरमा तयार हुँदैछ तिहारको पाला

 असोज २५, २०७९ मंगलबार २०:२७:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

भक्तपुर – नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । ‘तिहार आउन अझै दुई हप्ता बाँकी छ । मागअनुसारको पाला एक हप्ताभित्र पठाउनुपर्छ’, भक्तपुर तालाक्वका गङ्गालक्ष्मी प्रजापतिले भन्नुभयो ।

तिहार नजिकिएसँगै तालक्वका कुमाले समुदायको दिनचर्या नै पाला तयार गर्नेमै बित्ने गरेको गङ्गालक्ष्मी बताउनुहुन्छ । तिहारमा पालाको माग अत्यधिक मात्रामा हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट माग आउने भएकाले अन्य भाँडा बनाउने कामलाई थाँती राखेको गङ्गालक्ष्मीले बताउनुभयो । 

‘बिहान ५ बजेदेखि अघिल्लो दिन नै तयार गरी राखेको माटोले पाला बनाउने, सुकाउने, रातो माटोको रङ लगाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा दिन बित्छ । अहिले अन्य भाँडाकुँडा बनाउने समय छैन’, गङ्गालक्ष्मीले भन्नुभयो ।

अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह, सूर्यविनायक र चुनदेवीका कुमालेसमेत अन्य भाँडा बनाउने कामलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् । तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा पालामा दियो बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पूजाको दिन दीपावली गर्न घरको दैलो, झ्याल ढोका, कौसी, बरन्डालगायतका ठाउँमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । 

पछिल्लो समय तिहारमा पालासँगै बत्ती बाल्न विद्युतीय बत्तीको मागसमेत उच्च छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्यरूपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा बर्सेनि पालाको माग बढ्ने गरेको अर्का व्यवसायी रामप्रसाद प्रजापति बताउनुहुन्छ । उहाँले केही वर्ष पहिले मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि पालाको माग बढेको जानकारी दिनुभयो । ‘विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षाको दृष्टिकोणले पालालाई अत्यन्तै राम्रो र उत्तम मानिने भएकाले बजारमा यसको माग बढेको हो’, रामप्रसादले भन्नुभयो ।
    
कुमाले टोलमा तयार गरिएका पाला होलसेल व्यापारीलाई बिक्री गरिन्छ । होलसेल व्यापारीले पालाको साइजअनुसार ठूलो सानो हेरी मूल्य निर्धारण गरेर त्यसमा केही मुनाफा खाएर काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँका खुद्रा बिक्रेतामार्फत उपभोक्तामाझ पुर्‍याउने गरेको रामप्रसादले बताउनुभयो । भक्तपुरको कुमाले टोलमा तयार गरेको पाला काभ्रेको बनेपा, धुलिखेल, पनौती, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेको रामप्रसादले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया