आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न हात नकमाउनुस् : आयुक्त भण्डारी

 असोज ३१, २०७९ सोमबार १७:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । 

आज सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिनुभएको हो । केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कन्जुस्याइँ नगर्न पनि आग्रह गर्नुभयो । 

उहाँले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उहाँको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्न सक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले आचारसंहिता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरूको भूमिकालाई स्पष्टरूपमा उल्लेख गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रमुख जिल्ला अधिकारीहरूको टड्कारो भूमिका नदेखिँदा आचारसंहिता उल्लङ्घन नियन्त्रण गर्नलाई अलि कठिनाइ भएको आयोगले महसुस गरेको छ । यदि मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा पनि तपाईँहरू त्यो क्षेत्राधिकार प्रयोग गरेर त्यसलाई तत्काल नियन्त्रण गर्न सक्षम हुनुहुन्छ भन्ने आयोगले विश्वास र ठहर गरेको छ । चुनावकाे सन्दर्भमा कसैले कसुर गर्छ भने कसुरजन्य क्रियाअन्तर्गत अनुसन्धानको विषय हुन्छ । सरकारी वकिल र प्रहरीले छानबिन गरेर अदालतमा मुद्दा चलाउनुपर्ने हुन्छ । अनुगमनमा जाँदा कसैले आचारसंहिता उल्लङ्घन गरेको प्रमाण देखिन्छन् भने कारबाही गर्न सक्नुहुन्छ । आचारसंहितामा उल्लेख गरेकाबाहेक कुनै पनि दलका कार्यक्रमहरू छन् भने त्यसलाई तत्काल नियन्त्रण गर्नलाई कुनै पनि कन्जुस्याइँ बाँकी नराख्नुस् ।’

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरुले आचारसंहिता उल्लङ्घन गरेको उजुरीहरू आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि निर्देशन दिनुभयो । ण्डारीआचारसंहिता पालना नभएमा कठोर भएर कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । आचारसंहिता पालना गराउने सम्बन्धमा कानुनमा अस्पष्टता भएमा आयोगमा लेखेर पठाउन उहाँकाे आग्रह छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया