मतपेटिका ढुवानीमा सकेसम्म सुरक्षा निकायको गाडी प्रयाेग नगराैँ : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

 असोज ३१, २०७९ सोमबार १९:५३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको गाडी प्रयोग गर्दा उपयुक्त नहुने बताउनुभएको छ । 

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावबारे आज सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा बोल्दै अर्यालले यस्तो धारणा राख्नुभएको हो । मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको गाडीमा मतपत्र ल्याएको कारणले आफूहरू हार्नुपरेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको गाडी प्रयोग नगर्न उहाँले सुझाव दिनुभयो । 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चुनावमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । चुनावमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘चुनावमा कुनै एक स्थानमा नराम्रो भयो भने विभिन्न आरोप सबै सुरक्षा निकायले खेप्नुपर्ने हुन्छ । त्यो भएकाले सबैले संवेदनशील भएर सुरक्षा निकायलाई त्यहीअनुसार परिचालन गर्नुहोला । चुनाव सकिएपछि मतपत्र ढुवानीको बेलामा सुरक्षा निकायको गाडी प्रयोग नगर्ने भन्ने छ । त्यो दिन ल्याउनुपर्ने भन्ने पनि हुन सक्छ । तर चुनाव हार्नेले सुरक्षा निकायकाे गाडीमा मतपत्र ढुवानी गर्दा आफूले हारेकाे भन्न सक्छन् । त्यो भएकाले सकेसम्म सुरक्षा निकायको गाडी चुनाव सकिएपछि मतपत्र बोक्न प्रयोग नगर्दा राम्रो हुन्छ । ’

बैठकमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले चुनावकाे मौन अवधिमा शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरूसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया