‘आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगले रामराम भन्छ तर काँध थाप्न सक्दैन’

 कात्तिक १, २०७९ मंगलबार १४:७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता विपरीत चुनाव चिह्न तथा दलका झण्डा अङ्कित टी–सर्ट लगाएर हिँड्ने, ब्यानहरू राख्ने लगायतका क्रियाकलाप बढेको उजुरी आइरहेको भन्दै त्यस्ता क्रियाकलाप गरेको पाइएमा आयोग कारबाहीका लागि बाध्य हुने चेतावनी दिनुभएको हो । 

मुख्य निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘आचारसंहिता विपरीतका घटना भएका थुप्रै उजुरी आइरहेका छन्, अनुगमनकर्ताहरूले पनि आचारसंहिता विपरीतका क्रियाकलाप भएको रिपोर्टिङ गर्ने क्रम सुरु भएको छ, यदि त्यो पुष्टि भएमा आयोगले राम राम त भन्न सक्छ तर काँध थाप्न सक्दैन ।’

थपलियाले कतिपय ठाउँमा भएका निर्वाचन आचारसंहिता विपरीतका घटनाबारे स्पष्टीकरण सोध्दा उम्मेदवारहरूले आफूले नगरेको अरूले नै गरिदिएको भन्ने जवाफ आएको भन्दै त्यस्तो जवाफ सही नभएको बताउनुभयो । कुनै निर्वाचन क्षेत्रमा कुनै दल तथा उम्मेदवारको पक्षमा आचारसंहिता उल्लङ्घन भएको पाइएमा त्यसको जिम्मेवारी त्यही दल तथा उम्मेदवारको हुने भन्दै उहाँले थाहा छैन वा मैले गरेको हाेइन भन्ने जवाफ दिन नपाइने बताउनुभयो । कसैले बदनाम गर्न तथा फसाउनका लागि त्यस्तो गरेको भएमा त्यसलाई रोक्ने काम पनि सम्बन्धित दल तथा उम्मेदवारकै भएको थपलियाको भनाइ छ ।

यस्तै मुख्य निर्वाचन आयुक्त थपलियाले चुनाव अनावश्यक पहुँच र खर्च नभइ आस्था, विश्वास र सिद्धान्तले जितिन्छ भन्ने मानक स्थापित गर्नका लागि भूमिका खेल्न पनि दल तथा उम्मेदवारहरूलाई आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया