राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न आयोगको सात बुँदे निर्देशन

 कात्तिक २, २०७९ बुधबार १२:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले सात बुँदे निर्देशन दिएको छ ।

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्त्वबाट चुनावको प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको दुरुपयोग भएको, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँडेको, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि गाडीको प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना प्राप्त भएकोले निर्वाचन आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नसबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

आयोगको निर्देशन अनुसार नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्न पाइने छैन । यस्तै, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री उम्मेदवार भएको भए आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकूल नहुने गरी प्रचार प्रसार गर्ने, प्रचार प्रसार गर्दा सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगर्ने, सरकारी कामको सिलसिलामा यात्रा गर्दा बाहेक निर्वाचन प्रचार प्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदा समेत सरकारी साधन स्रोतको उपयोग नगर्ने तथा आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचार प्रसार गर्न जाँदा समेत उल्लेखित व्यवस्थाको पालना गर्न भनिएको छ । यस्तै, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा प्रचार प्रसार नगर्न र त्यो नियमको प्रतिबन्धात्मक वाक्यांशको खण्ड (४) बमोजिम अन्य स्थानीय तहमा चुनावको प्रचार प्रसार गर्दा तथा प्रचार प्रसारका लागि जाँदा वा आउँदा समेत सरकारी साधन स्रोत तथा जनशक्ति उपयोग नगर्न भनिएको छ ।  

कात्तिक १७ गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारलाई जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम तथा सञ्चारमाध्यमबाट कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्न पनि आयोगको निर्देशन छ । घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा धेरैको जुलुस लिएर नजान, बाजागाजा तथा झाँकीसहित नजान पनि आयोगले भनेको छ । चुनावको प्रसार प्रसारको लागि आयोगले अनुमति दिएको गाडी मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोके बमोजिम अनुमति लिएर मात्र गाडी प्रयोग गर्न र गाडीमा दलको झण्डा र चुनाव चिन्ह नराख्न आयोगले भनेको छ ।

कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक ठाउँमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह राख्न वा टाँस्न नहुने व्यवस्था रहेको भन्दै आयोगले त्यस्ता सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने जनाएको छ । आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानून बमोजिम जरिबाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुने आयोगको चेतावनी छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया