ठेकेदारले चरम लापरबाही गरेपछि  ‘ठेकेदार पीडित नगर’ घोषणा

 कात्तिक ४, २०७९ शुक्रबार ११:५६:४४ | दमन राई
unn.prixa.net

खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ठेकेदार पीडित नगर घोषणा गरिएको छ । नगरभित्र ठेक्कामा काम भइरहेका धेरैजसो योजनाको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेपछि ठेकेदार पीडित नगर घोषणा गरिएको हो ।

नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आयोजनाको काममा आलटाल गर्ने, ढिलासुस्ती गर्ने र सम्पर्कविहीन बनेर राज्यलाई ठगी गर्ने केही निर्माण व्यवसायीका कारण नगरपालिकालाई केही गैर–जिम्मेवार निर्माण व्यवसायी पीडित नगर घोषणा गर्नुभएको हो । नगरपालिकाभित्र विभिन्न समयमा ठेक्का लागेको सडक, पुल, खेलमैदान र भवन निर्माण सम्वन्धीका १७ वटा योजनाको काममा निर्माण व्यवसायीले चरम ढिलासुस्ती गरेको तथा पटक–पटक पत्राचार गर्ने, टेलीफोनमार्फत ताकेता गर्ने र डेलीगेसन जाँदा पनि बेवास्ता गरेकाले ठेकेदार पीडित नगर घोषणा गर्नुपरेको मेयर भट्टराईले बताउनुभयो ।

नगरपालिकाभित्रका हुर्लुङ–जालपा सडक, महुरे फोक्सिङटार सडक अन्तर्गत महुरे–सिमपानी (राजापानी) सडक, अस्पतालचोक–लफ्याङ सडक, साप्सुखोला–दुबे सडक, अस्पतालचोक–आहाले सडक कालोपत्रे, भुते जिरो–आयुर्वेद सडक, अल्छेढुंगा–नेर्पा–दोर्पा सडक, हाटडाँडा काफ्लेगाउँ घुम्तीवर सडक स्तरोन्नतीको काममा निर्माण व्यवसायीको चरम ढिलासुस्ती छ । यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गतका छेपेखोला पक्की पुल, पंखु खोला पुल, भालु खोला मेवा खोला पुल, दिक्तेल बजार ढलान, दिक्तेलको माटिकोरे खेलमैदान, जिल्ला अस्पतालको भवन, महुरेगढी प्राविधिक शिक्षालयको दुई वटा प्राविधिक भवन र विद्युत् कार्यालयको भवन निर्माणको काममा चरम ढिलासुस्ती भएपछि नगरपालिका ठेकेदार विरुद्ध ‘एक्सन’मा उत्रिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३ कात्तिकको मितिदेखि ३५ दिनभित्र आयोजनाको प्रगतिसहित मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । ३५ दिनभित्र काम सुरु नभए र तोकिएको समयसीमाभित्र काम सम्पन नहुने स्थिति सिर्जना भएमा नगरपालिकाबाट सम्बन्धित नियामक निकायहरुमा निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने लगायतका कानुनी कारबाहीको लागि सिफारिस गर्ने मेयर भट्टराईले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया