सभामुख हुँदा १ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : ओनसरी घर्ती

 कात्तिक ११, २०७९ शुक्रबार १४:५५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफू सभामुख हुँदा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेकाे जिकिर गर्नुभएकाे छ ।  

तिहार पर्वका अवसरमा काठमाण्डाैको शंखरापुर नगरपालिका–३ जहरसिंहपौवामा हिजाे बिहीवार आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा नेत्री घर्तीले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस्, म राजनीतिबाटै सन्न्यास लिन्छु ।’ आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उहाँले आफ्नो कामबारे सञ्चारमाध्यममा त्यति बेला प्रकाशित र प्रसारित समाचार खोजेर हेर्न आग्रह पनि गर्नुभयाे । 

नेत्री घर्तीले देशमा सुशासन र विकासका लागि कानुन बनाउन सत्तारूढ गठबन्धनका तर्फबाट आफूले काठमाण्डौ–२ मा उम्मेदवारी दिएको बताउनुभयाे । सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेन्डा रहेकाे उहाँले बताउनुभयाे ।

घर्तीले प्रतिनिधि सभामा निर्वाचित भएपछि आफ्नो प्रमुख ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नु हुने उल्लेख गर्नुभयाे । जनताको विकास र समृद्धिको सपना नै आफ्नो सपना भएको उहाँको भनाइ थियो । घर्तीले जीर्ण अवस्थामा रहेको चाबहिल–मूलपानी–साँखु सडक निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता पनि जनाउनुभयाे । 

यस्तै काठमाण्डु–२ लाई पर्यटकीय हबका रूपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवाले स्वदेशमै रोजगारी पाउने र गाउँको खाना, संस्कार, संस्कृति र रितिरिवाजको रक्षा गर्ने आफ्नो सपना रहेको उहाँले बताउनुभयाे । घर्तीले आफू देशको सभामुखजस्तो सम्मानित जिम्मेवारीमा रहिसकेका कारण चुनाव प्रचारका क्रममा कसैप्रति पनि तुच्छ र तल्लोस्तरको आलोचना गर्ने पक्षमा नरहेको बताउनुभयाे । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया