जनकपुरधामको परिक्रमा सडकभित्र मासु र जाँड–रक्सी बेच्नेलाई कार...
पुस १६, २०८१ मंगलबार
काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवारहरूको चुनिन पाउने अधिकार नै हनन हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले समूह नै बनाएर आउँदाे प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको चुनिन पाउने अधिकारमाथि नै हनन हुने खालका सामग्रीहरू पोस्ट गरिरहेका बेला आयोगको यस्तो भनाइ बाहिर आएको हो । कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दुराग्रहपूर्ण अभिव्यक्ति दिने अथवा चुनावमा उठेका उम्मेदवारहरूको चुनिने अधिकारमाथि नै हनन हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
आज शुक्रवार न्युज ऐजन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता पाैडेलले उम्मेदवारहरूलाई चुनिन पाउने अधिकारबाट वञ्चित गराउन नहुने बताउनुभयाे । आम मतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारलाई चुनिन पाउने अधिकार हुने भएकाले त्यसलाई हनन गर्न नमिल्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘आयोगले आचारसंहिता जारी गरेको छ । आयोगले सामाजिक सञ्जालसम्बन्धी नीति पनि जारी गरेको छ । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहितामा उल्लेखित विषयहरू सबैले पालना गर्नुपर्छ भन्ने विषय मुख्य हो । यसै सन्दर्भमा मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति कतैबाट पनि प्रसारित हुनुहुन्न भन्ने आयोगको बुझाइ हो । आम मतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारहरूलाई पनि चुनिने अधिकार हुन्छ । त्यसो भएको हुनाले कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दुराग्रहपूर्ण अभिव्यक्तिहरू प्रसारण गर्ने विषयहरू अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैनन् । त्यसो भएको हुनाले चुनिने हकबाट पनि कसैले वञ्चित नगराैँ । कसैको चरित्र हत्या गर्ने, कसैकाे विपक्षमा द्वेषपूर्ण अभिव्यक्तिहरू निकाल्ने, उम्मेदवारहरूका तस्बिरमा गलत चिह्न लगाउने लगायतका कामले अरूको अधिकार हनन हुन्छ भन्ने कुरामा आयोगको ध्यानाकर्षण भएको हो ।’
आयोगले उम्मेदवारहरूमाथि गालीगलौज नगर्न र चरित्रहत्या गर्ने, अवहेलना गर्ने लगायतका अभिव्यक्ति नदिन पनि सम्बन्धित सबै पक्षलाई पुनः निर्देश गरेको छ । आयोगका प्रवक्ता पौडेलले छद्म नामबाट कसैले पनि उम्मेदवारहरूको चरित्रहत्या गर्न नपाउने समेत बताउनुभयो । उहाँले सीमाभित्र बसेर मात्रै चुनावमा खर्च गर्न पनि उम्मेदवारहरूलाई भनिएको उल्लेख गर्नुभयाे । सम्बन्धित टेक कम्पनीहरूसँग सम्पर्कमै रहेकाले उनीहरूले सामाजिक सञ्जालमा गरेको खर्चको विवरणसमेत लिइरहेको पनि आयोगले जनाएको छ ।
आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता जारी गरेको उल्लेख गर्दै त्यसकाे कडाइका साथ पालना राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।