ओलीलाई आफूसँग जति बुद्धि, क्षमता कसैसँग पनि छैन भन्ने अभिमान भयाे : भुसाल

 कात्तिक १३, २०७९ आइतबार १५:१९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनर्स्थापित भएपछि ओलीले प्रधानमन्त्रीबाट मात्र नभइ सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँको भनाइ थियो । 

आज आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको जिकिरसमेत गर्नुभयो । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका उहाँले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नुपरेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पछिल्लो पटक जब उहाँ (ओली) प्रधानमन्त्री हुनुभयो । उहाँले यी सब कमिला हुन्, यी पार्टीका पनि कमिला बराबर नै हुन् भन्ने ठान्नुभयाे । यी जनता भनेका, अरू पार्टी भनेका, कांग्रेस भनेका छिचिमिरा हुन् र यिनकाे काम छैन भन्ने हिसाबले सोच्नुभयो । संसारमा कोही छ भने म छु, कोही प्रतापी छ भने म छु, कसैसँग त्यो सामर्थ्य छ भने त्यो मसँग छ, मसँग जति सामर्थ्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने अभिमान उहाँमा विकसित भयो । उहाँले नेकपा एमालेमा त समस्या बनाउनुभएको थियो र संविधानमाथि पनि आक्रमण गर्न थालेपछि, संसदमाथि पनि आक्रमण गर्न थालेपछि हामी उहाँको विरोधमा उत्रनुपर्ने भयो । उहाँले संसद् विघटन गरेपछि संसद् विघटनको विरुद्धमा, संविधानको पक्षमा हामी सडकमा निक्लनुपर्ने अवस्था आयो । अदालतमा मुद्दा चलेर संसद्लाई पुनर्स्थापित गरिदिएपछि उहाँमा थोरै पनि नैतिकता हुन्थ्यो भने प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनुपर्थ्याे ।’

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोपसमेत लगाउनुभयो । त्यसक्रममा उहाँले ओलीले संविधानलाई कागजको खोस्टाेमा परिणत गराउने दुस्साहस गरेको जिकिरसमेत गर्नुभयो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया