च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार दिउँसो काठमाण्डौको याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
एमालेको घोषणापत्रमा धेरै लोकप्रिय कार्यक्रम पनि समावेश गरिएको छ । जसमा एमालेले 'निरोगी नेपाल, सबल नागरिक' को नीति अघि बढाउने ग्यारेन्टी गरेको छ । यसअन्तगर्तत ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेहको परीक्षण तथा औषधि निःशुल्क उपलब्ध गराइने कुरा उल्लेख गरेको छ । यस्तै प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्य उपचार सहज बनाउने लगायतका विषय समावेश गरिएको छ ।
एमालेको घोषणापत्रमा स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयनको पनि ग्यारेन्टी गरिएको छ । जसमा सुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समूहका देशभित्रका सबै महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका निम्ति वार्षिक एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराइने उल्लेख छ । ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क आपत्कालीन उद्धार गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्सको व्यवस्था गर्ने पनि घोषणापत्रमा भनिएको छ ।
यस्तै श्रमिकको न्यूनमत मासिक तलब २५ हजार रुपैयाँ पुर्याउने, नेपालीको प्रतिव्यक्ति आय २४ सय डलर पुर्याउने, पाँच वर्षमा २५ लाख रोजगारी सिर्जना गर्ने, पाँच वर्षमा ६० लाख जनालाई सामाजिक सुरक्षाको दायरामा ल्याउने लगायतका योजना पनि घोषणापत्रमा उल्लेख छन् ।
यस्तै एमालेले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि 'मेक इन नेपाल' अभियान सञ्चालन गर्ने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने घाेषणापत्रमा उल्लेख गरेकाे छ ।
सबै परिवारलाई दुई वर्षभित्र मासिक १० हजार लिटर निःशुल्क पानी, बर्खायाममा ५० युनिट बिजुली निःशुल्क, बर्खायामको सिँचाइको बिजुली महसुलमा ५० प्रतिशत छुट, दुई वर्षभित्र सबै पालिकाका केन्द्र जोड्ने पक्की सडक, सबै सहरमा बिजुली र इन्टरनेटका तार भूमिगत गर्ने लगायतका विषय घोषणापत्रमा समावेश छन् ।
यस्तै विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निःशुल्क गरिने उल्लेख छ ।
घाेषणापत्रमा कृषिको व्यावसायीकरण गरिने, साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने लगायतका कुरा समेटिएका छन् । यस्तै अन्य लोकप्रिय कार्यक्रममा सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने लगायतका विषयहरू समावेश गरिएको छ ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।