ताप्लेजुङ अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन

 कात्तिक १६, २०७९ बुधबार १४:१:१० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा रहेका कराेडाै‌का स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । आईसीयू लगायत अन्य उपकरणहरु केही धुलोले पुरिएका छन् भने केही जडान गरिए पनि प्रयोगविहीन बनेका छन् ।

कोभिड १९ लाई मध्यनजर गरेर आईसीयूसहितको उपचारको लागि जिल्ला अस्पताललाई पाँच वटा बेड सञ्चालन गर्न नेपाल सरकारले अनुदान प्रदान गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले आईसीयू सञ्चालनका लागि एक करोड ८ लाख ६१४ रुपैयाँ अनुदान दिएको थियो । त्यही अनुसार आईसीयूलाई चाहिने उपकरणहरु खरिद गरिएको थियो ।

त्यही अनुसार २ वटा भेन्टिलेटर, ५ वटा बेड साइड मोनिटर, २ वटा सक्सन पम्प ३ वटा सिरिन्ज पम्प २ वटा ह्वील चेयर रहेका छन् । ५ वटा आईसीयू बेड इलेक्ट्रिक, ३ वटा इन्फ्यिुजन पम्प, १ वटा इसीजी मेसिन, १ वटा डीएईडी, १ वटा यूएसजी पोर्टेबल, कलर डोप्लर, १ वटा एबीजी मेसिन, ५ वटा अक्सिजन हूड, २ वटा ट्रली मेडिसिन, २ वटा ट्रली इन्स्ट्रुमेन्ट, २ वटा क्रयास कार्ट खरिद गरिएको छ । 

तीमध्ये २ बेड तयार गरिएका छन् । तर, ती पनि प्रयोगविहीन छन् । अन्य उपकरण भने गोदाममा राखिएका छन् ।  एउटा रुममा साधारण तरिकाबाट २ बेड जोड्ने काम मात्र भएको छ । तीनवटा वेड र सम्बन्धित उपकरणहरु भने गोदाममा थन्किएका छन् । धुलोले पुरिएका छन् ।

अस्पतालमा आईसीयू चलाउने न डाक्टर छन् । न त्यससम्बन्धी विज्ञ नै छन् । आईसीयू संचालनमा ल्याउने हो भने कम्तीमा पनि १५ देखि २० जनशक्ति चाहिने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताउनुभयो । यस्तै, ४/५ जना त्यस सम्बन्धी विज्ञ डाक्टर, एनिस्थेसिया एसिस्टेन्ट २ जना चाहिने पनि राईले बताउनुभयो ।

यस्तै, जिल्ला समन्वय समितिका संयोजक तथा अस्पताल विकास समितिका अध्यक्ष छिरिङ शेर्पाले जसरी भए पनि जनशक्ति राखेर चाडो भन्दा चाडो उपकरणहरु प्रयाेगमा ल्याइ बिरामीलाई सेवा दिने बताउनुभयो । उहाँले आफू भरखर मात्र अस्तालको अध्यक्षमा चुनिएको र बुझेर सबै काम गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया