निर्वाचन आयोगद्वारा चुनावी खर्चको अनुगमन सुरु

 कात्तिक १७, २०७९ बिहीबार १३:२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन सुरु गरेको छ । आजदेखि दल तथ उम्मेदवारले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न थालेसँगै आचारसंहिता अनुसार भए/नभएकोबारे आयोगले अनुगमन थालेको हो।

आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन आचारसंहिता-२०७९ को पालनसहित तोकेको (हद) सीमाभित्र रही खर्च गरे/नगरेको निगरानी गरी आचारसंहिताको दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिएको छ ।

आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले आयोगको सहमतिमा चुनाव प्रचारप्रसारमा संलग्न हुँदा सरकारी गाडीको प्रयोग भए/नभएको विषयमा आवश्यक निगरानीको व्यवस्था गरिएको छ ।

आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या र भूगोलका आधारमा प्रतिनिधि सभाको प्रत्यक्षका लागि २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म र प्रदेश सभाको प्रत्यक्षतर्फ १५ लाखदेखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी  सीमा निर्धारण  गरेको छ ।

यस्तै, समानुपातिक प्रणालीतर्फ प्रतिनिधि सभाका लागि सम्बन्धित दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्या अनुसारप्रति उम्मेदवार २ लाख रुपैयाँ र प्रदेश सभातर्फ १ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया