नेपाली भूमि फिर्ता ल्याउने देउवा र ओलीको आश्वासन, तर एकआपसमा आरोप–प्रत्यारोप

 कात्तिक १९, २०७९ शनिबार ६:५५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अतिक्रमणमा परेका नेपाली भूमि फिर्ता ल्याउने आश्वासन दिएका छन् । हिजो डडेल्धुराको गन्यापधुरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अतिक्रमित नेपालको भूमि कुटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो ।

आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद कुटनीतिक पहलका आधारमा समाधान गर्ने बताउनुभयो ।

हिजै दार्चुलामा भएको चुनावी सभामा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभयो ।नेपालको एक इन्च भूमि पनि मिचिन नदिने र अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने उहाँको भनाइ थियो ।

आफ्नो नेतृत्वको सरकारले गुमेको भूमि नक्सामा समेटेर भारतलाई पत्राचार गरे पनि वर्तमान सरकारले यसबारे बोल्न नसकेको उहाँको आरोप थियो । दार्चुलाबाट ओलीले यस्तो आरोप लगाउँदा डडेल्धुराबाट प्रधानमन्त्री देउवाले भाषण गरेर मात्र नेपाली भूमि फिर्ता नआउने बताउनुभयो ।

सीमा समस्या दुई देशबीच हुने मित्रवत् व्यवहारले मात्र समाधान हुन सक्ने भन्दै देउवाले राजनीतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नहुने बताउनुभयो । कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनको लागि पहल भइरहेको देउवाको भनाइ थियो । 

तीन वर्षअघि ओली सरकारको पालामा दार्चुला जिल्लाभित्र पर्ने नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समावेश गर्ने ऐतिहासिक निर्णय भएको थियो । तर नक्सा कार्यान्वयन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउने सवालमा भने खासै उपलब्धि हुन सकेको छैन । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया