वर्तमान संसदीय प्रणालीले देशलाई समृद्ध र विकसित बनाउन सकेन : अध्यक्ष यादव

 कात्तिक १९, २०७९ शनिबार १६:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले देशलाई समृद्ध र विकसित बनाउन नसकेको बताउनुभएको छ । 

आउँदो मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । शनिवार काठमाण्डौमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणाली र १० वटा प्रदेश हुनुपर्ने धारणा अघि सारेको छ । 

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थीरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि असक्षम भएको बताउनु भयो । उहाँले तीव्र रुपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणालीमा सरकार प्रमुख वा राष्ट्रप्रमुख कार्यकारिणी हुने व्यवस्था हुनु जरुरी रहेको बताउनुभयो ।

उहाँले समानुपातिक संसद रहने र संसदले संसदीय कार्य व्यवस्थापकीय कार्यमा सीमित रहने कुरा लागू हुन जरुरी रहेको बताउनुभयो । 

अध्यक्ष यादवले स्वतन्त्र र निष्पक्ष न्यायलय, राजनीतिक हस्तक्षेप र कार्यकर्ताको नियुक्ति राजनीतिक प्रभावबाट मुक्त, स्वतन्त्र र सक्षम न्यायालयको व्यवस्था गर्नको लागि वर्तमान संविधान संशोधन गर्नु अपरिहार्य रहेको पनि बताउनु भयो । 

अध्यक्ष यादवले देशको निर्वाचन प्रणालीलाई खिचडीको संज्ञा दिँदै निर्वाचन प्रणाली महंगो, विकृतिमुलक भएको पनि बताउनु भयो । उहाँले निर्वाचन प्रणालीलाई संशोधन गरेर समानुपातिक निर्वाचन प्रणालीतर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको निर्वाचन प्रणाली धेरै खर्चिलो भएको र यो प्रणाली निरन्तर रहने हो भने सामान्य नागरिकले चुनाव लड्न सक्ने अवस्था नरहने जिकिर गर्नुभयो । उहाँले न्यायालयको पुनः संरचना हुनुपर्ने बताउनुभयो । अध्यक्ष यादवले अहिलेको सात प्रदेशको संरचना अव्यवहारिक भएको उल्लेख गर्दै १० वटा प्रदेश हुनुपर्ने बताउनुभयो ।  
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया