डीपी अर्याल रास्वपाको कार्यबाहक सभापति
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – मङ्सिर ४ गते हुने चुनावका लागि सत्तारूढ गठबन्धनले काठमाण्डौ क्षेत्र नम्बर–२ को घोषणापत्र सार्वजनिक गरेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, रोजगारी, सामाजिक सुरक्षा, खेलकुदलगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटेर गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म संसद् विघटन गरेका कारण देशको राजनीतिक स्थिरता, संवैधानिक सर्वोच्चता र नागरिककाे आर्थिक समृद्धिप्रतिको तीव्र आकाङ्क्षामाथि घात पुर्याएकाे भन्दै बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान संविधानको रक्षकका रूपमा लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको दाबी गरिएको छ ।
घाेषणापत्रमा प्राकृतिक एवम् सांस्कृतिक पर्यटन तथा कृषिको प्रचुर सम्भावना बोकेको काठमाण्डौ–२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाइएकाे छ । प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफूल खेती एवम् कृषिमा आधुनिकीकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेनसहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने कार्यक्रम पनि घोषणापत्रमा समेटिएका छन् ।
यसैगरी गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, सफा खानेपानी, प्रयाप्त सिँचाइको व्यवस्था, स्वच्छ र स्वस्थ वातावरण, सुरक्षाको प्रत्याभूतिका साथै नागरिकलाई रोजगारीको अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता पनि जनाइएकाे छ । साँखु–फड्केश्वर सडकलाई पूर्णता दिइ मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखु–बज्रयोगिनी–घुमारचोक–डाँडाकटेरी–चौही भञ्ज्याङ–धारापानी –पटाप–कुण्डेश्वर हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने प्रतिबद्धता गरिएको छ । चावहिल–साँखु सडकलाई मापदण्डअनुसार यथाशीघ्र निर्माण सम्पन्न गराउने, साली नदी–मनोहरा–मूलपानी–हरहर महादेव–पेप्सीकोला–नरेफाँट–बालकुमारी हुँदै मनोहरा काेरिडोर निर्माण गर्ने र सार्वजनिक गाडीलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम सञ्चालन गर्ने, मनोहरा खोलाको कटान तथा डुबान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने तथा जग्गा एकीकरण गर्न पहल गर्ने पनि घोषणापत्रमा प्रतिबद्धता गरिएको छ ।
शिक्षा र स्वास्थ्य
गठबन्धनले काठमाण्डौ–२ अन्तर्गतका सबै विद्यालयमा अनुसन्धान तथा आविष्कार केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । यस्तै संविधानअनुसार निःशुल्क आधारभूत शिक्षा र स्वास्थ्यमाथि नागरिककाे अधिकार स्थापित गराउने सरकारी तथा सामुदायिक विद्यालयमा भौतिक तथा प्राविधिक पूर्वाधार र शैक्षिक गुणस्तरको सुधार गरी सबै सरकारी शैक्षिक संस्थालाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । सीमान्तकृत गरिब समुदायका परिवार लक्षित पौष्टिक आहार, सुत्केरी स्याहारलगायतका विशेष कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक नागरिक स्वस्थ नागरिक अभियान अन्तर्गत खुला जिमको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि गठबन्धनले गरेको छ । यस्तै शंखरापुुर नगरपालिका–३ जहरसिंहपौवामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने घोषणा गरिएको छ ।
महिलाको सशक्तिकरणका लागि उद्यमशिलताको विकास, महिला हिंसा न्यूनीकरण र क्षमता विकासका नीति तथा योजनाहरू बनाउने गठबन्धनको घोषणापत्रमा उल्लेख छ । यस्तै गर्भवती महिलाका लागि निःशुल्क गाडीकाे सेवा प्रदान गर्ने, जनजाति तथा दलित वर्गलाई मध्यनजर गरेर आधुनिक र प्रविधिमैत्री उद्यमशिलता तथा सीप सिकाइ केन्द्रहरूको स्थापना गर्ने जनाइएकाे छ ।
सबै सरकारी कार्यालय तथा सामुदायिक संस्था, अस्पताल, सडक तथा यातायात, सार्वजनिक मठमन्दिर तथा गुम्बा, र शैक्षिक संस्थाहरूलाई अपाङ्गमैत्री बनाउने पनि गठबन्धनले वाचा गरेको छ ।
सुरक्षित सहर : व्यवस्थित बसोबास
मनोहरा काेरिडोर निर्माण गर्ने तथा पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि गठबन्धनको घोषणापत्रमा गरिएको छ । गठबन्धनले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङ मार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने वाचा मतदातालाई गरेको हो ।
जडीबुटीदेखि तीन कुनेसम्म अन्डरपास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने घोषणापत्रमा प्रतिबद्धता गरिएको छ । यस्तै आवश्यक ठाउँमा मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तीनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी त्याे ठाउँमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने, फोहर र ढल व्यवस्थापन गर्ने, त्यस क्षेत्रअन्तर्गतका खोलामा बग्ने प्लास्टिकजन्य फोहरलाई ट्र्याक निर्माण गरी सङ्कलन गर्ने र उचित व्यवस्थापन गर्ने, पेप्सीकोला—ब्रह्मखेल सडकको निर्माण सम्पन्न हुन बाँकी सडक खण्डलाई सम्झौताअनुुसार सम्पन्न गराउने, स्मार्ट सडक बत्ती र सीसीटीभी क्यामेरा जडान गरी उज्यालो, सुन्दर र सुरक्षित सहर बनाउने घोषणापत्रमा उल्लेख छ ।
यस्तै कागेश्वरी मनोहरामा खेलकुद पार्क, खेलकुद एकेडेमी तथा वैकल्पिक राष्ट्रिय रङ्गशाला निर्माण गरी खेल पर्यटनको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि गठबन्धनको छ । कागेश्वरीलाई प्रशस्त खानेपानीयुक्त, पर्यावरणमैत्री सहर बनाउने प्रतिबता गठबन्धनका उम्मेदवारले गरेका छन् ।
शंकरापुरमा नेपालको कला, साहित्य र संस्कृति झल्किने गरी सांस्कृतिक ग्राम निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका नेवाः सांस्कृतिक सहर साँखु, साली नदी, बज्रयोगिनी तथा मणिचुड क्षेत्रलाई समेटेर सुन्दर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न वृहत् गुरुयोजना तयार गरी त्यहीअनुसारका संरचना निर्माण, सम्पदा संरक्षण, पर्यटकीय पथ, केबलकार निर्माणको पहल गर्ने साथै बज्रयोगिनी मन्दिरलाई विश्व सम्पदा सुूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने घोषणा गठबन्धनको छ ।
काठमाण्डौ–२ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा माओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती तथा प्रदेश (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेश (ख) मा एमालेका भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।