ताप्लेजुङमा जित दाेहाेर्‍याउने बाटाेमा भट्टराई, बुढाक्षेत्रीकाे चुनाैती कति ?

 कात्तिक २४, २०७९ बिहिबार १७:५२:४० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – प्रतिनिधि सभाका लागि एउटामात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट दोस्रो पटक उम्मेदवार बन्नुभएका नेकपा एमालेका सचिव योगेश भट्टराईको चुनौती बनेर उभिनुभएकाे छ गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री । अघिल्लो चुनावमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा रहेर हातेमालो गर्नुभएका बुढाक्षेत्री अहिले विपक्षमा बलियाे प्रतिस्पर्धी बनेर उभिनुभएकाे छ ।

आफूले चुनाव जित्ने दाबी गर्दै बुढाक्षेत्री भन्नुहुन्छ, ‘विश्वास छ, जनताले यस पटक परिवर्तन चाहेका छन् । अवश्य पनि म चुनाव जित्छु ।’

भट्टराई २०७४ सालको प्रतिनिधि सभा सदस्य चुनावमा २९ हजार चार सय ७९ मत पाएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार आठ सय ८८ मत प्राप्त गर्नुभएको थियो । यस पटक भने परिस्थिति फेरिएको छ । एमालेका भट्टराई नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता गठबन्धनका उम्मेदवार बुढाक्षेत्रीसँग प्रतिस्पर्धामा हुनुहुन्छ । 

ताप्लेजुङमा भट्टराईलाई गठबन्धनका बुढाक्षेत्रीले राम्रै चुनौती दिने आँकलन गर्न थालिएको छ । नेता भट्टराईको भने पार्टी सङ्गठन र आफ्नो लोकप्रियताकै कारण चुनाव जित्ने दाबी गर्नुहुन्छ । उहाँले यसै विश्वासका साथ चुनावी आमसभा गरी रहनुभएको छ । 

‘विगतमा मैले गरेका कामकै आधारमा ताप्लेजुङका जनताले मलाई २०७४ सालमा जस्तै मत दिएर प्रतिनिधि सभामा पठाउँदै छन्’, उहाँ भन्नुहुन्छ, ‘म हिजो पनि यहाँकै जनतासँग थिए, आज पनि छु, भोलि पनि हुनेछु । मैले गरेका सबै काम सार्वजनिक छ ।’

गएकाे वैशाख ३० मा सम्पन्न पालिका चुनावमा दलहरूलाई प्राप्त मतका आधारमा ताप्लेजुङमा एमाले पहिलो शक्ति देखिन्छ । ताप्लेजुङका ६१ वडामध्ये एमालेले २९, कांग्रेसले १६, माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले दुई र स्वतन्त्रले चार वटा वडा जितेको निर्वाचन कार्यालयले जनाएको छ ।

पालिका चुनावमा नाै वटा पालिकामध्ये गठबन्धनले छ वटामा प्रमुख जितेको छ । यस आधारमा पनि सत्ता गठबन्धनका उम्मेदवार बुढाक्षेत्री आफूले जित्ने दाबी गर्नुहुन्छ । उहाँ एमालेका भट्टराईलाई ‘मौसमी उम्मेदवार’ भएको आरोप लगाउँदै प्रचारप्रसार गरेर भोट मागिरहनुभएको छ । 

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि ताप्लेजुङमा प्रतिनिधि सभातर्फ जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मंगोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै स्वतन्त्रतर्फ दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तर चुनावको मुख्य प्रतिस्पर्धा भने एमालेका भट्टराई र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका बुढाक्षेत्रीबीच नै हुने अनुमान छ । 

जिल्लामा प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभा (क) मा एमालेका तिलकुमार मेन्याङ्बो र सत्ता गठबन्धनबाट नेकपा (एस) का खेमबहादुर वनेम उम्मेदवार छन् । सरकारी विद्यालयकाे गुणस्तर सुधारका लागि पालिका, प्रदेश, सङ्घीय सरकारसँगै अन्तर्राष्ट्रिय दातृ निकायको सहकार्यमा भौतिक पूर्वाधार र जनशक्तिको विकास गरेको भट्टराईको दाबी छ ।

प्रदेश (ख) मा एमालेका गोपाल थोप्रा र सत्ता गठबन्धनबाट कांग्रेसका खगेनसिं हाङ्गाम (लिम्बु) बीच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राप्रपा, जसपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्ताे छ जिल्लामा अवस्था

ताप्लेजुङमा ८८ हजार दुई सय ८५ मतदाता रहेका छन् । गएको वैशाखमा भएको पालिका चुनावमा एमालेको २४ हजार नाै सय ९५, कांग्रेसको १८ हजार छ सय १८, माओवादी केन्द्रको चार हजार चार सय ९७, नेकपा एसको आठ सय ५४, जसपाको पाँच सय ४१ र राप्रपाको तीन सय ९७ मत छ । पालिका चुनावमा स्वतन्त्र उम्मेदवारले एक हजार नाै सय ७२ मत पाएका थिए । 

त्यस्तै पालिका चुनावको नतिजाअनुसार प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा एमालेको १२ हजार एक सय २५, कांग्रेसको नाै हजार तीन सय २३, माओवादी केन्द्रको दुई हजार नाै, स्वतन्त्रको एक हजार सात सय ९५, नेकपा एसको चार सय ८३ र राप्रपाको तीन सय ७९ मत छ । प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा एमालेको १२ हजार एक सय ७०, कांग्रेसकाे नाै हजार दुई सय ९५, माओवादी केन्द्रको दुई हजार चार सय ८८, जसपाकाे पाँच सय ४१ र नेकपा एसको तीन सय ७१ मत छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया