‘जसरी पनि चुनाव जित्नुपर्छ भन्ने उम्मेदवार भएका ठाउँमा फर्जी मतदानकाे खतरा छ’

 कात्तिक २५, २०७९ शुक्रबार १५:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । 

आयोगले कानुनको व्यवस्थालाई पूर्णरूपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै चुनाव बिथोल्ने कुनै पनि व्यक्तिलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आज शुक्रवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिनुभयो । उहाँले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रा सबै कानुनी व्यवस्था पूर्ण छन् । मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ । म सबै मतदान अधिकृत साथीहरूलाई कानुनको व्यवस्थालाई पूर्णरूपमा अध्ययन गर्न, आफ्नो तर्फबाट शतप्रतिशत कार्यान्वयन गराउन र यदि कसैले पालना नगरेकाे पाइए कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु । कानुनको प्रभावकारी कार्यान्वयनले नै चुनाव स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ । कतिपय ठाउँमा मैले जसरी पनि विजय हासिल गर्नुपर्छ, चुनाव जित्नुपर्छ भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरूको कारणले फर्जी मतदान हुने खतरा पनि हुन्छ, त्यसतर्फ मतदान अधिकृतहरूले ध्यान दिनुपर्छ । धेरै मतदान हुनु राम्रो हो तर मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटि हो र चुनावप्रतिको अवज्ञा पनि हो ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति फेरि मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखी सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गर्नुभयो । उहाँले मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरूको पनि उत्तिकै महत्त्वपूर्ण भुमिका हुने भएकाले चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयाे । आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको उहाँकाे भनाइ छ ।  

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले चुनावमा सबैभन्दा महत्त्वपूर्ण काम मतपत्रमा दस्तखत गर्नु भएकाले निर्वाचन अधिकृतले यो कुरामा लापर्बाही नगर्न पनि अनुरोध गर्नुभयो । मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि कुनै पनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्थालाई पनि विधेष ध्यान दिन उहाँकाे आग्रह छ । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले यो पटक चार वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभयो । उहाँले सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा बन्दोबस्त प्रभावकारी बनाउन पनि आग्रह गर्नुभयो । आयोगले प्राकृतिक विपद् बाहेक अन्य कुनै पनि बहानामा मतदान कार्यलाई स्थगित गरी फेरि मतदान गर्ने कार्यलाई गम्भीररूपमा लिएको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया