तेह्रथुम : कांग्रेसकी सीता र एमालेका विजयको प्रतिस्पर्धा

 कात्तिक २७, २०७९ आइतबार १५:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवारको रुपमा दोश्रो पटक आउनुभएको छ । २०७४ को चुनावमा नेकपा एमालेका भवानी खापुङसँग पराजित हुनुभएकी गुरुङ यसपटक फेरि एमालेका डा. विजय सुब्बासँग प्रतिस्पर्धा गर्न चुनावी मैदानमा आउनुभएको हो ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भइसक्नुभएकी गुरुङ जिल्लामा विकासप्रेमी नेतृको रूपमा चिनिनुहुन्छ  । गुरुङलाई पराजित गर्ने खापुङ नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमालेले विजय सुब्बालाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको हो । उहाँ यसअघि दुई पटकसम्म जिल्लाबाट निर्वाचित भइसक्नुभएको छ । प्रतिनिधिसभामा गुरुङ र सुब्बाको प्रतिस्पर्धा भने पहिलो हो । 

सत्ता गठबन्धन दलको साथ र विगतमा तेह्रथुम जिल्लाको विकासका लागि आफूले गरेको योगदानलाई जनताले सम्मान गर्दै मतदान गरे आफ्नो जित निश्चित रहेको गुरुङको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘जिल्लाको छथरदेखि आठराईसम्म विकासको अल्पकालीन र दीर्घकालीन योजना बनाएर चुनावी मैदानमा आएकी छु । मतदाताले मौका दिए गफ हैन काम गरेर देखाउनेछु ।’

यता, एमाले वामपन्थीको किल्लाको रुपमा चिनिएको तेह्रथुमको आफ्नो इतिहास जोगाउन लागि परेको छ ।

जिल्लाको समग्र विकासको लागि इमान्दार प्रयत्नका साथ लाग्न आफ्नो उम्मेदवारी रहेको सुब्बा बताउनुहुन्छ । ‘जिल्लाको विकृत राजनीतिक परिवेशको सुधार र जनहितसँग सम्बन्धित ऐन कानुन निर्माणको लागि मेरो उम्मेदवारी हो’ सुब्बाले भन्नुभयो । 

तेह्रथुममा गठबन्धनका कारण काँग्रेसले जित्ने आँकलन गरिएको छ । गठबन्धन चुनाव जित्नकै लागि मात्र नभई संविधान र जनताको हक अधिकार रक्षाको लागि गरिएको गठबन्धन दलमध्ये एकीकृत समाजवादी पार्टी तेह्रथुमका अध्यक्ष कृष्ण चोङबाङले बताउनुभयो । 

तेह्रथुममा वि.स. २०७४ सालको प्रतिनिधि र प्रदेशसभा दुवैमा एमालेले जित हात पारेको थियो । त्यस्तै २०७४ सालको पालिका चुनावमा ५ पालिका जितेको एमालेले २०७९ मा भने १ नगरपालिका र २ गाउँपालिका मात्रै जितेको छ । पालिका तह चुनावमा पनि १ नगरपालिकासहित २ गाउँपालिकामा सत्ता गठबन्धन दलको सहयोगमा कांग्रेस विजयी भएको थियो । पालिका तह चुनावमा सत्ता सहयात्री दलसँग तालमेल गरी चुनाव लडेको कांग्रेसले सोचेजस्तो नतिजा भने हात पार्न सकेन ।

यस्तो छ चुनावी अंकगणित

तेह्रथुममा पालिका तहका प्रमुखले प्राप्त गरेको मत जोड्दा कांग्रेस एमालेभन्दा १ हजार ३ सय ५९ मतले अगाडि छ  । सत्ता गठबन्धन दलको सहयोगमा कांग्रेसले २३ हजार ६ सय ७७ मत प्राप्त गरेको थियो भने एमालेले २२ हजार ३ सय १८ मत प्राप्त गरेको छ  । ७१ हजार ९ सय ३३ मतदाता रहेको तेह्रथुमबाट प्रतिनिधि सभाको लागि १ स्वतन्त्रसहित विभिन्न पार्टीका १० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया