मोरङ-३ : ढकाल र शर्मालाई चुनौती दिँदै रेखा थापा

 कात्तिक २८, २०७९ सोमबार ८:७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ - मोरङमा एमालेको सबैभन्दा राम्रो सङ्गठन भएको क्षेत्र हो मोरङ ३ । सङ्गठन राम्रो भएकोले चुनावमा सहजै परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भनेर २०७४ सालमा एमाले नेता भानुभक्त ढकालले क्षेत्र नम्बर ३ रोज्नुभएकाे हाे । त्यसअघि तेह्रथुमबाट राजनीति गर्दै आउनु भएका ढकाल त्यसै ठाउँबाट समानुपातिक सांसद बन्नु भएको थियो ।

सङ्गठन राम्रो भएको र माओवादीसँगको गठबन्धनका कारण सहजै जित्ने क्षेत्रका रुपमा आकलन गरिए पनि ढकालले अघिल्लो चुनावमा कांग्रेस उम्मेदवार डा. सुनिल शर्मालाई १ हजार ९ सय ५ मतान्तरले मात्रै पराजित गर्नु भएकाे हाे ।

नोबेल मेडिकल कलेज सञ्चालकसमेत रहेका डा. शर्मा सामु ढकाल त्यस बेला कमजोर देखिएका थिए । ५ वर्षपछि घटनाक्रम फेरिएको छ । माओवादीको साथ यसपटक उहाँलाई छैन भने एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले पनि उहाँ विरुद्ध मतदान गर्ने छ । 

चुनाव पछिका ५ वर्षमा ढकाल र शर्माले क्षेत्रमा उल्लेखनीय सुधार नगरेको स्थानीयवासीको भनाइ छ । अघिल्लो चुनावमा पनि नाेबेल मेडिकल कलेजबाट नि:शुल्क स्वास्थ्य शिविर गरेर मत तान्ने प्रयास गरेका शर्माले क्षेत्र नम्बर ३ का नागरिकको उपचारमा छुटको स्किम यसपटक पनि ल्याउनु भएकाे छ । अघिल्लो प्रतिनिधि सभामा निर्वाचित ढकाल यसपटक पुन: बाजी मार्ने योजनामा हुनुहुन्छ । चुनावपछि ढकाल मन्त्री पनि बन्नुभयाे । डा. शर्मा कांग्रेसको राजनीतिसँगै मेडिकल सञ्चालनमै रहे । चुनाव नजिकिँदै गएपछि पुन: ढकाल र शर्माले चुनाव क्षेत्रमा गतिविधि बढाउन सुरु गर्नुभयाे । उनीहरुसँगै राप्रपाको उम्मेदवार बनेर कलाकार रेखा थापा आउनु भएकाे हाे । क्षेत्र नम्बर ३ मा ढकाल, शर्मा र थापाले सँगसँगै चुनाव प्रचार, भेटघाटका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

एमाले र कांग्रेसको तुलनामा कमजोर सङ्गठन भए पनि राप्रपाको उम्मेदवारका कारण क्षेत्र नम्बर ३ ले चुनावी चर्चा बढाएकाे छ । मोरङका अन्य क्षेत्रमा राप्रपाले उम्मेदवारी दिए पनि मोरङ ३ को जस्तो चर्चा अन्य क्षेत्रमा छैन । एमाले उम्मेदवार ढकालको एक कार्यकाल हेरिसकेका र कांग्रेस उम्मेदवार डा. शर्माबाट पनि खासै अपेक्षा नराखेका स्थानीयहरु अहिले राप्रपा उम्मेदवार थापासँगै चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् ।

थापाको चुनावी गतिविधिले एमाले र कांग्रेसका नेता कार्यकर्तालाई झस्काएको छ । बेलबारी नगरपालिकाकी पूर्व मेयर तथा एमाले नेतृ ढाका पराजुलीले रेखा थापासँग सेल्फीमात्रै खिच्ने हुन, भोट एमालेमै नागरिकले हाल्ने प्रतिकृया दिनु भएकाे छ । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ, ‘डा. सुनिल शर्मासँग प्रेसर नापेर, रेखा थापासँग सेल्फी खिचे पनि भोट सूर्यमा आउँछ ।’ तर, कांग्रेस कार्यकर्ता भने डा. शर्माले चुनाव जित्नेमा ढुक्क छन् । शर्माकाे अवस्था अघिल्लो चुनावभन्दा राम्रो भएको उनीहरुको भनाइ छ । राप्रपा उम्मेदवार रेखा थापाका समर्थक पनि एमाले उम्मेदवार ढकाल र कांग्रेस उम्मेदवार शर्माको नागरिकले विकल्प खोजेकाले आफूहरुले चुनाव जित्ने दाबी गर्छन् । 

ढकाल र शर्माको छैन चर्चा

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ढकाल क्षेत्र नम्बर ३ मा पुन: उम्मेदवार बन्ने हल्ला हुने बित्तिकै सामाजिक सञ्जालमा ढकाल विरुद्धका स्टाटस फेसबुकभरी देखिए । त्यसले पनि अनुमान गर्न सकिन्छ ढकालको चर्चा अघिल्लो चुनावको तुलनामा घटेको छ । कोभिड-१९ को महामारीमा स्वास्थ्यमन्त्री भएका समयमा ढकालले क्षेत्र नम्बर ३ मा अपेक्षित काम गर्न नसकेको स्थानीयवासीको आरोप छ । जुन कुरालाई एमालेकै कार्यकर्ताहरु पनि स्वीकार गर्छन् ।

ढकालको बोलीअनुसारको व्यवहार क्षेत्र नम्बर ३ का बासिन्दाले अनुभूत गर्न नपाएको बताउँछन् । कार्यकर्तासँग खासै घुलमिल गर्न नरुचाउने र सीमित घेरामा आफूलाई राख्ने बानीका कारण ढकालप्रति पार्टीकै नेता कार्यकर्ता असन्तुष्ट छन् ।

नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका कांग्रेस उम्मेदवार डा. शर्माको चर्चा २०७४ को चुनावमा जति थियो अहिले त्यति छैन । अघिल्लो चुनावमा एक ढिक्का देखिएको कांग्रेस यसपटक एक देखिएको छैन। शर्मा विरुद्ध नै बागी उम्मेदवारी परेको छ । कांग्रेसको महाधिवेशन र पालिका चुनावमा संस्थापन पक्ष र इतर पक्षबीचको कटुता अझै कायमै छ । जसलाई कांग्रेस नेताहरुले मिलाउने काम नगरेको कार्यकर्ताको आरोप छ । कांग्रेस उम्मेदवार शर्मालाई यस पटक बागी उम्मेदवार र पार्टीको संस्थापन पक्ष नै भारी हुने देखिएको छ । 

राप्रपा उम्मेदवार थापाको सक्रियता बढ्दो

राप्रपा उम्मेदवारसमेत रहेकी कलाकार रेखा थापाको बढ्दो सक्रियताले क्षेत्र नम्बर ३ मा बेग्लै वातावरण सिर्जना गरिदिएको छ । ढकाल र शर्माको तुलनामा थापाको घुलमिल स्थानीयसँग बढी छ । जुन आत्मीयता शर्मा र ढकालले स्थानीयसँग साटासाट गर्न सकेका छैनन् ।

राजनीतिक पृष्ठभूमि नभएकी र कमजोर सङ्गठनबाट उम्मेदवारी दिए पनि थापाको बढ्दो चर्चाका कारण मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारलाई टाउको दुखाइको विषय भएको छ । कतिपय  स्थानीयवासीले ढकाल र शर्माको विकल्पका रुपमा थापालाई हेरेको देखिन्छ ।

उम्मेदवार छनाेटमा कांग्रेस–एमालेमा असन्तुष्टि

प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै कांग्रेस र एमालेमा नेताहरुले पार्टी परित्याग गरेको अवस्था छ । कांग्रेसका २ जनाले प्रतिनिधि सभामा बागी उम्मेदवारी दिएका छन् । डा. शर्मा विरुद्ध गणेशप्रसाद पोखरेल र जयराज संयोगले बागी उम्मेदवारी दिएका छन् ।

बेलबारी नगरपालिकामा ०७४ मा कांग्रेसबाट मेयर पदमा पराजित राजकुमार लिम्बुले पार्टी परित्याग गरेका छन् । डा. शर्मा पार्टीमा संस्थापन इतर समूहका रहेकाले संस्थापन समूहका केही नेताहरुले उहाँलाई असहयोग गर्ने सङ्केत गरेका छन् ।

नेकपा एमालेमा पनि टिकट वितरणका असन्तुष्टि उत्तिकै छ । क्षेत्र नम्बर ३ मा रहेका संविधान सभा सदस्य मधु गुरुङ, एमाले प्रदेश सचिवालय सदस्य रामकुमार बस्नेतलगायतका नेताहरुले पार्टी जिम्मेवारी त्यागेका छन् । एमालेको प्रतिनिधि सभाभन्दा पनि प्रदेश सभाका उम्मेदवार छनाेटमा असन्तुष्टि देखिएको हो ।

एमालेले ३ (क) मा पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप राई र ३ (ख) मा बेलबारीका पूर्व मेयर ज्ञानेन्द्र सुवेदीलाई एमाले टिकट दिएको थियो । प्रदेशमा पुन: उम्मेदवारी दिने तयारीमा रहेका प्रदेशका पूर्वमन्त्री राजकुमार ओझालगायतका आकाङ्क्षीहरु पाखा लागेका थिए । 

यस्तो छ अङ्क गणित

क्षेत्र नम्बर ३ मा सुन्दरहरैचा, बेलबारी, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वटा वडा पर्दछन् । २०७४ को प्रतिनिधि सभा सदस्य चुनावमा एमालेका भानुभक्त ढकालले ४२ हजार ४ सय १३ र नेपाली कांग्रेसका डा. सुनिल शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका थिए । ५ वर्ष पछि पुन: ढकाल र शर्मा नै मुख्य प्रतिस्पर्धामा छन् ।

आउँदाे वैशाखमा सम्पन्न पालिका चुनावमा एमालेले क्षेत्र नम्बर ३ अन्तर्गत चार वटै पालिका मेयर पदमा विजयी भएको छ । बेलबारी नगरपालिकाको उपमेयर बाहेक एमालेले तीन पालिकाको मेयर/उपमेयरसहित बहुमत वडाध्यक्ष जितेको छ ।

वडाध्यक्षले २६ वटा वडामा पाएको मतका आधारमा एमाले थोरै मतले अघि छ । एमालेले वडागत रुपमा ३७ हजार ४ सय १० मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले वडागत रुपमा ३७ हजार ७६ मत प्राप्त गरेको छ । एमालेले १४ वटा वडाध्यक्ष जित्दा कांग्रेसले ११ वडामा जित हासिल गरेको छ । एउटा वडा स्वतन्त्रले जितेको छ । क्षेत्र नम्बर ३ मा माओवादीले ७ हजार ३ सय ७३, राप्रपाले २ हजार १ सय २१ मत ल्याउँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले १ हजार ८ सय ५५ मत ल्याएका थिए ।

वडागत मतका आधारमा एमाले अघि देखिए पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका कारण गठबन्धनको मत बढी छ। 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया