खाँदबारी नगरपालिकाको कार्यपालिका बैठक अब 'लाइभ'

 मंसिर १, २०७९ बिहिबार १९:५३:५७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाले कार्यपालिका बैठकको ‘लाइभ’ सुरुवात गरेको छ ।

आज खाँदबारी नगरपालिकाको सभाहलमा नगरपालिकाले १३ औँ बैठकको आयोजना गरेको हो । कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरु, नागरिक समाज, आम नागरिक र सञ्चारकर्मीकोसमेत सहभागिता रहेको थियो ।

अब खाँदबारी नगरपालिकाले हरेक कार्यपालिकाको बैठक स्थानीय टेलिभिजन, रेडियो, एफएम, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने कार्यको सुरुवात भइसकेको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताउनुभयो ।

उहाँले खाँदबारी नगरपालिकाले गर्ने हरेक कार्यसम्पादन छर्लङ्ग होस् तर नाङ्गो नहोस् भन्ने मनशायले ‘लाइभ’ बैठक बस्ने निर्णय गरिएको बताउनुभयो । ‘हामी समृद्ध खाँदबारी नगरपालिका बनाउन पाँच वर्षका लागि निर्वाचित भएर आएका हौँ, यहाँका नगरवासीहरुलाई लुकाउनु पर्ने कुनै काम नै छैन । सबै पारदर्शी गर्छौँ, उहाँहरुको राय सुझाव सल्लाह प्रत्यक्ष लिन्छौँ । सकेसम्म तत्काल सम्बोधन गर्ने प्रयास गर्छौँ’, थपलियाले भन्नुभयो ।

विश्व नै डिजिटलाइजेसनतर्फ अघि बढेको जमानामा आधुनिक समय अनुसार नै अगाडि बढ्नका लागि लाइभ बैठकको सुरुवात गरिएको मेयर थपलियाको भनाइ छ ।

आज बसेको पहिलो १३ औँ कार्यपालिका बैठकले ३ वटा प्रस्तावमाथि छलफलपछि निर्णय गरेको थियो । केही समय अघि खाँदबारी नगरपालिका र अमेरिकाको सुपेरियर सिटीबीच भएको भगिनी सम्बन्ध अन्तर्गत यही मंसिर ६ गते सुपेरियर सिटीका मेयरको नेतृत्व आउने भ्रमण टोलीको स्वागत सम्मान तथा व्यवस्थापन गर्ने, खाँदबारी–किमाथांका सडक आयोजनाका लागि क्रसर उद्योग सञ्चालनका लागि अनुमति प्रदान गर्ने र विविध गरी तीन वटा प्रस्तावमाथि निर्णय भएको थियो ।

पहिलो लाइभ बैठकमा खाँदबारीका अग्रज हाल अमेरिका बस्दै आएका समाजसेवी नारायण श्रेष्ठले धन्यवाद दिनु भएकाे थियाे । त्यस बैठकमा उहाँको साथमा ४ जना जापानीजकाे एक टोलीसमेत सहभागी हुनुहुन्थ्यो । कार्यपालिका सदस्यहरुलेसमेत मेयर थपलियाले राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंसा गर्नुभयो थियो ।

कार्यक्रममा नागरिक समाजका अगुवा डाक्टर मातृकाप्रसाद तिम्सिना, अग्रज पत्रकार जीवनाथ खनाल र संखुवासभाका उद्योग वाणिज्य संघका वरिष्ठ प्रथम उपाध्यक्ष डेगराज बस्नेतले नगरपालिकाले राम्रो कामको सुरुवात गरेकोप्रति धन्यवाद दिँदै सरोकारवाला निकायसँग सम्बन्ध विस्तार गरेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नगरका मेयर थपलियाले राखेको प्रस्तावको छलफलपछि सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले लिपिबद्ध गर्नुभएको थियो भने कार्यपालिका सदस्य, नागरिक समाज र संचारकर्मीहरुलाई नगरका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले धन्यवाद दिनुभएको थियो । केही समयअघि मात्रै खाँदबारी नगरपालिकाले अमेरिकाको सुपेरियर सिटी र काठमाण्डौ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया