फिफा विश्वकप २०२२ : कतारको संस्कृति, परम्परा र प्रविधि झल्काउने ८ भव्य रंगशाला

 मंसिर २, २०७९ शुक्रबार १९:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप २०२२ आयोजना गर्न कतार तम्तयार छ । यतिबेला लाखाैँ दर्शक र हजाराैँ खेलाडीलाई पर्खिरहेका छन् यहाँका र‌ंगशाला ।

विश्वकप आयोजनाका लागि तयार पारेका भव्य रंगशालाले एकतर्फ विश्वको ध्यान तानिरहेको छ । तर अर्कोतर्फ ती पूर्वाधार निर्माणका पछाडि रगत पसिना बगाएका श्रमिकमाथि अन्याय भयो भन्ने आलोचना पनि खेपिरहेको छ कतार । जुन संरचना निर्माणमा हजारौँ नेपाली श्रमिक पनि खटिएका थिए । यही प्रशंसा र आलोचनाकैबीच कतारले पर्सि आइतवार फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२२ को उद्घाटन गर्दैछ । 

'नाउ इज अल' अर्थात् ‘वर्तमान नै सबै कुरा हो’ कतार विश्वकपको आधिकारिक नारा हो । विश्वकपका लागि निर्माण गरिएका आठ वटा भव्य रंगशालालाई अलग्गै नारा पनि दिइएको छ र भिडियो फिचरिङ गरिएको छ । आठ वटामध्ये सात रंगशाला नयाँ बनाइएका हुन् भने एउटा रंगशालालाई पूर्णरूपमा पुनर्निर्माण गरिएको हो । फुटबल हेर्न आएकाहरूलाई छाेटाे यात्रामै एकबाट अर्को रंगशालामा पुग्न सकिने गरि कम दुरीमै रंगशाला निर्माण गरिएका छन् । यी सबै रंगशाला करिब एक घण्टाको 'ड्राइभ' अर्थात् ५५ किलोमिटरको दुरीमा अवस्थित छन् । कतारको संस्कृति र परम्परालाई झल्काउने गरि आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिएका रंगशालाहरू यस्ता छन् :

अल बायत रंगशाला

यसलाई ‘युनिक स्टडियम’ अर्थात् अनौठो रंगशाला भनिएको छ । ६० हजार दर्शक क्षमता भएको यो रंगशाला दोहाबाट ३५ किलोटिर उत्तर अलखोर शहरमा अवस्थित छ ।  

यसले फिफा विश्वकपको सुरुवाती खेल (ओपनिङ म्याच)को आयोजना गर्नेछ । नोभेम्बर २० मा कतारी समयअनुसार बेलुकी ७ बजे कतार र इक्वेडरबीच पहिलो खेल यसै रंगशालामा हुनेछ । यो रंगशालादेखि समुद्रसम्म फैलिएका पार्क, ताल र वातावरणीय अभ्यासका लागि बनाइएका हरित क्षेत्रको सुन्दर दृश्यमा खेल पर्यटक लोभिने विश्वास गरिएको छ ।  

साथै यो रंगशालामा कतारको पारम्पारिक कपडाको प्रयाेग गरिएको छ । कतारका आदीवासीले प्रयोग गर्ने कपडाबाट यसमा प्रयोग गरिएको टेन्ट निर्माण गरिएको हो । यसले दर्शकलाई आरामदायी मात्रै नभएर कतारी फेब्रिकको महत्त्व पनि दर्शाएको छ । यसमा प्रयोग भएको कपडा शताब्दियौँदेखि यस क्षेत्रमा माग हुँदै आएको छ । यसले दर्शकलाई न्यायो बनाइराख्ने छ । यस्तै यस रंगशालाको प्यारामाउन्टबाहेक माथिको भाग खेल सम्पन्न भएपछि हटाउन मिल्ने गरी डिजाइन गरिएको छ । 

लुसेल रंगशाला

यो रंगशाला दोहाबाट २० किलोमिटर उत्तर लुसेल शहरमा अवस्थित छ । ८० हजार दर्शक क्षमता भएको यस रंगशालालाई सम्पदासँगै जीवन्त, भविष्यका लागि प्रतीक (लिभ्ली विथ हेरिटेज, एन आइकन फर फ्युचर) भन्ने नारा दिइएको छ । यसले फिफा विश्वकपको अन्तिम खेल साथै अन्य खेलहरू आयोजना गर्नेछ । इस्लाम धर्ममा प्रयोग गरिने हातले बुनेको कचौरा आकारमा यो रंगशालाको डिजाइन गरिएको छ । 

कतारले दिगो विकासलाई प्राथमिकतामा राखेको छ । यति ठूला रंगशाला विश्वकपपछि के गर्ने भन्ने पनि प्रश्न हुन्छ । त्यसैले फिफा विश्वकपपछि लुसेस रंगशालालाई विद्यालय, कफी शप, स्पोर्ट फ्यासिलिटिज, पसल, स्वास्थ्य केन्द्र लगायत सामुदायिक क्षेत्रमा परिवर्तन गरिनेछ । याे रंगशालामा नाेभेम्बर २२ मा अर्जेन्टिना र साउदी अरेबियाबीच स्थानीय समयअनुसार दिउँसाे १ बजे पहिलाे खेल हुनेछ ।

अहमद बिन अली रंगशाला

दोहाबाट २० किलोमिटर पश्चिममा अवस्थित यो रंगशालामा ४० हजार दर्शक अटाउनेछन् । यो रंगशालाको नारा 'ह्वेयर डेजर्ट स्टोरिज अनफोल्ड' अर्थात् जहाँ मरुभूमिका कथाहरू खुल्छन् दिइएको छ । यो रंगशाला कतारको ऐतिहासिक शहर उम अल अफाईमा मरुभूमि नजिकै छ । अल रायन स्पोर्ट क्लबको गृह नगर पनि हो यो क्षेत्र । त्यसैले पनि यो रंगशालालाई अल रायन पनि भनिएको छ । 

यो रंगशाला वरपरका घरहरू र यसमा प्रयोग गरिएका ऐनाले त्यहाँको स्थानीय संस्कृति र परम्परा झल्काएको छ । यस्तै ती ऐना र रंगशालाको अद्भूत ज्यामितीय संरचनामा हुने प्रतिविम्बले स्थानीय पर्यावरण तथा मरुभूमिको सुन्दरतालाई झल्काउँछ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारलाई पनि प्रतिविम्बित गर्दछ भनिएको छ । यसमा प्रयोग भएको ८० प्रतिशतभन्दा बढी निर्माण सामग्री यही क्षेत्रमा रहेको पुरानो रंगशालाको हो । याे रंगशालामा नाेभेम्बर २१ मा अमेरिका र वेल्सबीच स्थानीय समयअनुसार बेलुकी ११ बजे पहिलाे खेल हुनेछ ।

अल जनुब रंगशाला

४० हजार दर्शक क्षमता भएको यो रंगशाला दोहाबाट २२ किलोमिटर दक्षिणमा रहेका अल वाक्राह क्षेत्रमा पर्छ । यस रंगशालामा २२ नोभेम्बरमा फ्रान्स र अस्ट्रेलियाबीच स्थानीय समयअनुसार राति १० बजे पहिलो खेल हुनेछ । यो रंगशालालाई 'सी फुटबल सेल इन टु अ न्यु इरा' अर्थात् फुटबललाई एक नयाँ युगमा हेर्नुस् भन्ने नारा दिइएको छ । 

यो रंगशाला कतारका परम्परातगत धो डुंगाको आकारमा बनाइएको छ । जुन डुंगा अल अक्रावामा विगतमा माछा मार्न र मोती टिप्नमा त्यहाँका आदीवासीले प्रयोग गर्दथे । विगतमा कतारका मछुवाराको त्यही संस्कृतिलाई श्रद्धास्वरूप रंगशालालाई यस्तो डिजाइन दिइएको हो ।

विश्वकप सकिएपछि यो रंगशालाको क्षमता घटाइने बताइएको छ । यो रंगशाला सुन्दर खेलकुदमयी पार्कल्यान्डले घेरिएको छ । भविष्यमा यसले त्यस क्षेत्रका समुदायलाई फाइदा पुग्ने बताइएको छ । फिफा विश्वकप २०२२ सकिएपछि विश्वका खेल पर्यटकलाई आमन्त्रण गर्ने केही सीमित रंगशालामध्ये यो पनि एक हुनेछ । 

अल थुमामा रंगशाला

४० हजार दर्शक क्षमता भएको यो रंगशाला सेन्ट्रल दोहाबाट १२ किलोमिटर दक्षिणमा पर्ने अल रायन क्षेत्रमा छ । यो रंगशालालाई संस्कृति र परम्परामा डुबेको एक स्थलका रूपमा चित्रण गरिएको छ । यो रंगशालाको डिजाइन अरब देशका पुरुषले लगाउने बुनेर बनाएको टोपी 'गाफिया' आकारको छ ।

भविष्यमा युवा सशक्तीकरणको प्रतीकात्मक रूपमा गाफियालाई लिइएको हो । यस रंगशालामा प्रयोग गरिएको सेतो रंगले आउँदो पिढीलाई सुन्दर ढंगले खेल खेल्न प्रेरित गर्ने कुरालाई दर्शाइएको कतारले जनाएको छ । कतारले यस रंगशालालाई रंगशाला डिजाइनको इतिहासमा एक नयाँ युग भएको दाबी गरेको छ । यसमा क्वाटर–फाइनल सहितका खेल आयोजना गरिने बताइएको छ । याे रंगशालामा नाेभेम्बर २१ मा सेनेगल र नेदरल्यान्ड्सबीच स्थानीय समयअनुसार दिउँसाे ७ बजे पहिलाे खेल हुनेछ ।

एजुकेशन सिटी रंगशाला

'ए सिमरिङ ज्वेएल अफ इन्स्पेरेशन' प्रेरणाको एक झिलिमिली गहना यस रंगशालाको उपमा हो । दोहाको उत्तर पश्चिममा रहेको एजुकेशन सिटीमा यो रंगशाला अवस्थित छ । नामजस्तै यो क्षेत्रमा अरब क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू छन् । ४० हजार दर्शक क्षमता भएको यस रंगशालालाई फुटबल र ज्ञानलाई जोड्ने सेतुका रूपमा पनि अर्थ्याइएको छ । 

यस रंगशालाको अत्याधुनिक डिजाइनले इस्लामिक वास्तुकलालाई झल्काएको छ । रंगशालाको बाहिर त्रिकोणात्मक आकारमा निर्मित हिराजस्तै ज्यामितीय जटिल आकृतिले सूर्यका किरणको परावर्तन गर्दा दृश्य निकै रोमाञ्चक देखिन्छ । यस्तै राति यसमा पर्ने बत्तीको उज्यालोले दर्शकलाई नयाँ अनुभव दिने बताइएको छ । याे रंगशालामा नाेभेम्बर २२ मा डेनमार्क र ट्युनिसियाबीच स्थानीय समयअनुसार दिउँसाे ४ बजे पहिलाे खेल हुनेछ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशाला

'कतारमा फुटबलको घर' को रूपमा पनि हेरिने खलिफा अन्तर्राष्ट्रिय रंगशाला कतारको निकै पुरानो रंगशाला हो । यो सेन्ट्रल दोहाबाट पाँच किलोमिटर पश्चिममा छ । सन् १९९६ मा निर्मित यो रंगशालाको अहिले पुनर्निर्माणमात्र गरिएको हो । त्यसैले पनि विश्वकपका लागि कतारले निर्माण सम्पन्न गरेको यो पहिलो रंगशाला हो । यसै आधारमा यसको नारा 'अ स्पोर्टिङ लेजेन्ड रि–इनर्जाइज्ड' अर्थात् खेलकुद लेजेन्डको पुनर्वोदय दिइएको छ । यस रंगशालाले ऐतिहासिक थुप्रै खेलको आयोजना गरिसकेको छ ।

यो रंगशालामा यसभन्दा पहिले अरबियन गल्फ कप, फिफा क्लब वर्ल्ड कप र आईएएफ वर्ल्ड एथ्लेटिक्स च्याम्पियनशिपको आयोजना भइसकेको छ । ४० हजार सिट क्षमताको यो रंगशाला पुनर्निर्माणपछि पहिलो पटक सन् २०१७ मा अमिर कपको फाइनल खेल खेलाइएको थियो । अमिर कप कतारको सर्वोच्च फुटबल प्रतियोगिता पनि हो । 

रंगशालाका दुवै भव्य आर्कहरूले यसको सुन्दरतालाई झनै खुलाएको छ । त्यतिमात्रै होइन यस संरचनाले रंगशालाभित्र तापक्रम प्रणालीलाई व्यवस्थित गराइराख्छ । याे रंगशालामा नाेभेम्बर २१ मा इङ्ग्ल्यान्ड र इरानबीच स्थानीय समयअनुसार दिउँसाे ४ बजे पहिलाे खेल हुनेछ ।

स्टेडियम ९७४

आविष्कार र दिगोपनाको क्षेत्रमा ठूलो जित मानिएको यो रंगशाला सेन्ट्रल दोहाबाट करिब १० किलोमिटर पूर्वमा पर्ने रस आबु अबदमा रहेकाे छ । पहिलो खेल हुनुभन्दा पहिल्यै यो रंगशालाले आफ्नो इतिहास रचेको बताइएको छ । यसको निर्माण पानीजहाजका कन्टेनर र मोडुलर स्टिलको प्रयोग गरेर बनाइएको छ । यसरी प्रयोगपछि पूर्णतया हटाउन सकिने पहिलो फुटबल रंगशाला पनि बनेको छ यो रंगशाला । यस रंगशालाले दिगो विकासको क्षेत्रमा कतारको योगदान र 'डेअरिङ डिजाइन' लाई दर्शाएको छ ।

९७४ कतारको अन्तर्राष्ट्रिय कलिङ कोड हो । यतिमात्रै नभएर यो रंगशाला निर्माणमा ९७४ कन्टेनरको प्रयोग गरिएको छ । त्यसैले पनि यस रंगशालाको नामाकरण त्यहीअनुसार गरिएको हो । नोभेम्बर २२ मा मेक्सिको र पोल्यान्डबीच स्थानीय समयअनुसार बेलुकी ७ बजे यस रंगशालामा पहिलो खेल हुनेछ ।

एजेन्सीकाे सहयाेगमा बेदानन्द जाेशीले तयार पारेकाे सामग्री । तस्बिर : फिफा विश्वकप २०२२ कतारको वेबसाइट

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया