ताप्लेजुङ : हेलिकप्टर नआएपछि हिमाली चार गाउँको मतपेटिका बोकेरै मतगणनास्थलतर्फ लगिँदै

 मंसिर ५, २०७९ सोमबार ११:६:४९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - हेलिकप्टर नआएपछि ताप्लेजुङका हिमाली चार गाउँको मतपेटिकाहरु आज बिहानदेखि बोकेर मतगणना स्थलतर्फ लगिँदै छ। 

जिल्लाको सबैभन्दा टाढा रहेको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ को याङ्मा र ओलाङचुङगोला, त्यही गाउँपालिकाको वडा नम्बर ६ घुन्सा र ग्याब्ला गाउँका मत‍पेटिकाहरु आज बिहानैदेखि बोकेर मतगणनास्थलतर्फ लैजाँदै गरिएकाे  प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेलले बताउनुभयो । 

यी चार ठाउँका मत पेटिकाहरु हेलिकप्टरमार्फत् ल्याउने भनिए पनि हेलिकप्टर नआउने भएपछि बोकेर लैजान लागिएकाे हाे। आज बिहान ५ बजे याङ्माबाट मतदान अधकृतसहितको टोलीले मतपेटिका बोकेर हिँडेकाे प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी पोख्रेलले दुवै ठाउँका मतपेटिका आज राति १० बजे सम्ममा भेला पारेर ट्याक्सीबाट ल्याउने बताउनुभयो । याङ्मामा मतदान केन्द्रमा ६१ जना मतदाता रहेकामा १२ मत खसेको छ । याङ्माबाट आउन तीन दिन लाग्ने भए पनि आधा बाटोबाट ट्याक्सीमा लगिने भएकाले राति एक  बजे सम्ममा मतपेटिका ल्याइ पुर्याइने जनाइएको छ ।  

घुन्सामा १ सय ६९ मतदाता रहेकोमा ६० मत खसेको छ ।  ग्याब्लामा ६७ मतदाता रहेकामा २२ मत खसेको छ । जिल्लाका १ सय २३ मतदान केन्द्रहरुमा ४ वटा बाहेक १ सय १९ मतदान केन्द्रका मतपेटिका भने मुख्य निर्वाचनको कार्यालयमा ल्याइसकिएको छ । 

मतपेटिका जम्मा भएपछि भोलि बिहानदेखि मत गणना गरिने  प्रजिअ पोख्रेलले बताउनुभयो । जिल्लामा ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खनालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया