मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

 मंसिर ९, २०७९ शुक्रबार २३:२१:४२ | रासस
unn.prixa.net

फाइल तस्बिर

धनुषा – मधेस प्रदेश सभामा यस पटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले  जनप्रतिनिधिका रुपमा चयन गरेका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व यस पटक मधेस प्रदेशसभा देखिने भएको छ ।

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सात प्रदेशसभा सदस्य चुनिने छन् । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनः दोहोरिनुभएको छ । पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ । मुख्यमन्त्री लालबाबु राउत फेरि दोहोरिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का राउत पर्सा–१ को प्रदेशसभा (२) बाट निर्वाचित हुनुभएको छ ।

कांग्रेस नेता रामसरोज यादव धनुषा–३ को प्रदेशसभा (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसक्नुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि  बारा–४ प्रदेशसभा (२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री  भइसक्नुभएको छ ।

पर्सा–२ को प्रदेशसभा (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित हुनुभएको छ । विसं २)७४ को निर्वाचनमा कुर्मी तत्कालीन राजपाबाट निर्वाचित हुनुभएको थियो । पर्साकै अर्को क्षेत्र–४ प्रदेशसभा (१) बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । रौतहट–४ प्रदेशसभा (२) बाट जसपाका शेषअबुल कलाम आजाद पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ । 

यसैगरी, सर्लाहीबाट चारजना प्रदेशसभा सदस्य दोस्रो पटक निर्वाचित हुनुभएको छ । सर्लाही–१ प्रदेशसभा (१) बाट लोसपाका उपेन्द्र महतो, १ प्रदेशसभा (२) बाट वेंची लुङेली, ३ प्रदेशसभा (२) बाट जसपाका सञ्जयकुमार यादव र ४ प्रदेशसभा (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ । कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीसमेत भइसक्नुभएको छ ।

त्यस्तै महोत्तरी–३ प्रदेशसभा (१) मा लोसपाबाट उम्मेदवार बन्नुभएका अभिराम शर्मा र ३ को प्रदेशसभा (२) बाट रानी शर्मा पुनः निर्वाचित हुनुभएको छ । धनुषा–२ प्रदेशसभा (२) मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सप्तरी–३ प्रदेशसभा (१) मा कांग्रेसका मोहमद समिम पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

नयाँ अनुहार

पर्सा–१ प्रदेशसभा (१) बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा–२ प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल र पर्सा–३ प्रदेशसभा (२) बाट जित्नुभएका कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो । 

यस्तै, बारा–३ प्रदेशसभा (१) बाट निर्वाचित एमालेका रवीन्द्रदास श्रेष्ठ र बाराकै क्षेत्र–४ प्रदेशसभा (१) बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुुनुहुन्छ । रौतहटमा प्रदेशसभामा निर्वाचित सातजनामध्ये ६ नयाँ हुनुहुन्छ । क्षेत्र–१ प्रदेशसभा (१) बाट नागेन्द्र साह र १ प्रदेशसभा (२) बाट कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । कांग्रेसका दुवै नेताको प्रदेशसभाको पहिलो यात्रा हो । कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि हुनुहुन्छ । 

यसैगरी, क्षेत्र–२ प्रदेशसभा (१) मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र–२ प्रदेशसभा (२) बाट निर्वाचित कनिश पटेल, क्षेत्र–३ प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र–४ प्रदेशसभा (१) मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुनुहुन्छ । सर्लाही–४ प्रदेशसभा (२) मा माओवादीका फकिरा महतो र धनुषा–२ प्रदेशसभा (१) मा एमालेका लखनदास तत्मा निर्वाचित हुँदै पहिलो पटक प्रदेशसभा सदस्य बन्नुभएको छ ।

सप्तरीका ६ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँचजना नयाँ हुनुहुन्छ । यसमध्ये चारजना नयाँ पार्टी ‘जनमत पार्टी’ को हुुनुहुन्छ । जसमा क्षेत्र–३ प्रदेशसभा (२) मा शम्भुकुमार साह, क्षेत्र–२ प्रदेशसभा (१) मा शतिशकुमार सिंह, क्षेत्र–२ प्रदेशसभा (२) मा महेशप्रसाद यादव र क्षेत्र–१ प्रदेशसभा (२) मा सकिल मियाँ निर्वाचित हुनुभएको छ । क्षेत्र–१ प्रदेशसभा (१) मा जित्नुभएका एमालेका राजकुमार लेखी पनि नयाँ हुनुहुन्छ ।

मन्त्री जो पराजित भए

विसं २०७४ मा निर्वाचित भई प्रदेशका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका केही मन्त्रीहरू भने यसपटक पराजित हुनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहेका शैलेन्द्र साह सप्तरी–२ प्रदेशसभा (१) बाट पराजित हुनुभयो । 

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहनुभएका योगेन्द्र राय यादव पनि पराजित हुनुभएको छ । उहाँ रौतहट–१ प्रदेशसभा (२) मा उम्मेदवार हुनुहुन्थ्यो । प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झाले पनि पराजय व्यहोर्नु परेको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया